काठमाडौं, पुस ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको बैठकले ओलीले लोकतन्त्रविरोधी र निरङ्कुश कदम चालेकाले उनलाई कारबाही गर्ने निर्णय गरिएको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। ओलीलाई कारबाही गर्ने निर्णय ७ गते बस्ने केन्द्रीय समितिको बैठकमा पेस गरिने पनि उनले बताइन्। १० गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक ७ गतेलाई बोलाइएको छ।
यस्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीको सदस्यमा लैजाने पनि बैठकले निर्णय गरेको छ। पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न ६ गते सोमबार संसदीय दल र स्थायी कमिटीको बैठक बोलाइएको पनि नेतृ शाक्यले बताइन्। स्थायी कमिटीको आजको बैठकमा ओली पक्षका कुनै पनि नेताको सहभागिता थिएन।
Facebook Comments


























