पुस ४ । अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि स्वीकृत गरेको छ। खोप तथा औषधि सम्बन्धी अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले मोदेर्नाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको बीबीसीले जनाएको छ।
एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले मोदेर्नाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै सर्वसम्मतरूपमा स्वीकृति प्रदान गर्न सुझाए लगत्तै एफडीएले स्वीकृति दिएको हो। यसअघि एफडिएले फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई स्वीकृति प्रदान गरेपछि हाल सर्वसाधारणलाई लगाउन थालिएको छ। दुई खोपले स्वीकृति पाएसँगै कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा परेको अमेरिकामा सर्वसारधारणको जीवन सुरक्षित हुने अपेक्षा गरिएको छ।
अमेरिकामा शनिबार यो समाचार तयार पार्दा ३ लाख २० हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ भने १ करोड ७८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।


























