चितवन १ पुस । हाल मास्टरी पेसामा रहेका गीतकार दिग्गज धाैराली नेपाली गीत संगीतमा पछिल्लाे समय लाेकप्रिय नाम हाे। गजल लेखनबाट लाेक दाेहाेरी हुँदै चलचित्रका गीतसम्म लेख्न भ्याएका धाैरालीकाे लाेक आधुनिक शैलीकाे नयाँ गीत ‘केटाे अलि कमाउने हाेस्’ बुधबार विशाल इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएकाे छ। वर्तमान समयकाे चर्चित संगीतकार अर्जुन पाेखरेलकाे संगीतमा समीक्षा अधिकारी र सुनिल कटुवालले आवाज दिएका छन्। विगतका गीतहरुमा जस्तै याे गीतबाट पनि दर्शक स्राेतकाे अथाह माया पाउनेमा ढुक्क छन् गीतकार धाैराली।
गाेरखामा जन्मी हुर्केका उनी सानैदेखि नेपाली साहित्यमा अग्रसर थिए। उनी धाैराली आज स्थापित गीतकारकाे रुपमा परिचित बन्न सफल भएका छन्। शब्द चयनमा विशेष ध्यान दिने धाैरालीलाई पछिल्लाे समयका सफल गीतकारमध्येका एक हुन्। गीतकार धाैरालीकाे यसअघि चलचित्र क्याप्टेनकाे ‘रहर छ सँगै’, म यस्ताे गीत गाउँछुकाे शीर्षगीत, मेलाकाे ‘सैबा हाेइ सैबा’, ‘कहाँ छ र जिन्दगीकाे भर तिमी बिना’लगायत दर्जनभन्दा बढी गीत सुपरहिट छन्। धाैरालीकाे केही दिनअघि मात्रै प्रमाेद खरेलकाे आवाज र अर्जुन पाेखरेलकाे संगीतमा अर्काे गीत पनि रेकर्ड भइसकेकाे छ।

‘केटाे अलि कमाउने हाेस्’ गीतकाे भिडियाेमा भने सुधीर श्रेष्ठ, श्रेया सिटाैला, अजय श्रीष र अस्मिता अधिकारीले अभिनय गरेका छन्। विधान कार्कीकाे निर्देशनमा तयार भएकाे भिडियाे उत्सव दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन्।

























