काठमाडौं, पुस १ । आज (बुधवार) पनि संवैधानिक परिषद्को बैठक बस्ने भएको छ। यसअघि मंगलवार पनि बैठक बसेको थियो। हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि सामान्य छलफल भएको र आज फेरि बैठक बसेर अन्तिम रुप दिन लागिएको बालुवाटार स्रोतले जनाएको छ।
मंगलवार बिहान बसेको बैठकमा सदस्य संख्या नपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् बैठक बोलाई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेका थिए। भने राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई तत्काल जारी गरेकी थिइन्।
उक्त अध्यादेशले संवैधानिक परिषद्को बैठकमा अध्यक्षसहित ३ जना उपस्थित भएमा बैठक बस्न पाउने प्रावधान पारित गरेको छ। त्यसै अनुसार साँझ प्रधानमन्त्री ओलीसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बैठकमा उपस्थित रहेका थिए।
यसअघि संवैधानिक परिषद् बैठकमा अध्यक्ष (प्रधानमन्त्री) सहित ५ जना उपस्थित हुनपर्ने कानुनी प्रावधान रहेको थियो। सरकारले हठान रुपमा अध्यादेश ल्याएको भन्दै व्यापक आलोचना भइरहेको छ। लामो समयदेखि संवैधानिक परिषद् बैठक बस्न नसकेका कारण धेरै संवैधानिक आयोगहरुमा पदपूर्ति हुन सकेको छैन।


























