चितवन ३० मंसिर । रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी बिजयी भएका छन्। संघकाे २१औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट कांग्रेस प्यानलबाट उमेदवारी दिएका देवेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै गिरीकाे प्यानलले जित हात पारेकाे हाे। जम्मा एक हजार ३२५ मतदाता रहेको संघमा सोमबार भएको निर्वाचनमा कूल एक हजार १९१ मत खसेको थियो। मंगलबार सकिएको मतगणनामा यातायात व्यवसायी गिरीले ६०४ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी श्रेष्ठले जम्मा ५४५ मत मात्रै प्राप्त गरेका थिए। संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्न पाउने व्यवस्था भएकाेले अध्यक्षबाहेककाे पदाधिकारी र कार्यसमितिमा मात्रै निर्वाचन भएकाे हाे।
निर्वाचन अधिकृत रामकृष्ण अधिकारीका अनुसार वाणिज्य तर्फको उपाध्यक्षमा भीमनारायण श्रेष्ठ बिजयी भएका छन्। श्रेष्ठले ५३७ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी कांग्रेस प्यानलका कविन घिमिरेले जम्मा ३७७ मत पाएका थिए भने स्वतन्त्र उमेदवारको रुपमा नेकपाको वागी उम्मेद्वार देवीप्रसाद डल्लाकोटीले २१३ मत प्राप्त गरेका थिए। त्यस्तै उद्योगतर्फको उपाध्यक्षमा पुरु खनाल बिजयी भएका छन्। उनले ५८९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी कांग्रेस निकटका निरञ्जन थापाले ५४१ मत पाएका थिए।
महासचिवतर्फ निराजन खनालले ६१० मत प्राप्त गर्दै जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेस प्यानलका माधवप्रसाद पौडेलले जम्मा ४६० मत प्राप्त गरे। एसोसियटतर्फको उपाध्यक्षमा राममणी थपलियाले ६६ मत प्राप्त गर्दै जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेस निकटका हरि अधिकारीले जम्मा ५३ मतमात्रै प्राप्त गरे। कोषाध्यक्षमा उपेन्द्र शर्मा आचार्यले ६४० मत प्राप्त गरेर जित सुनिश्चित गरे भने उनका प्रतिद्वन्द्वी कांग्रेस निकटकी मीना उप्रेतीले जम्मा ४७३ मत हात पारिन्।
वस्तुगत तर्फको उपाध्यक्षमा भने यसअघि नै कांग्रेस निकटका रघुनाथ भट्ट निर्विरोध चयन भइसकेका छन्। अबको संघको अध्यक्ष पदको नेतृत्व भने कांग्रेस निकटका अनिलकृष्ण श्रेष्ठले गर्नेछन्।


























