सीएमसीलाई १८ लाख, क्यान्सर अस्पताललाई ८ लाख रुपैयाँ धराैटी
चितवन ३० मंसिर । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका दुई ठूला अस्पताललाई कारवाही गरेकाे छ। काेराेना भाइरस संक्रमण परीक्षणकाे लागि गरिने पीसीआर शुल्कमा सरकारले निर्धारण गरेको भन्दा बढी पैसा लिएकाे थाह पाएपछि चितवन प्रशासनले चितवन मेडिकल कलेज अस्पताल (सीएमसी) र वीपी काेइराला मेमाेरियल क्यान्सर अस्पताललाई कारवाही गरेकाे हाे। सरकारले दुई हजार रुपैयाँ शुल्क बुझाएपछि पीसीआर परीक्षण गर्न पाउने गरी अनुमति दिए पनि दुवै अस्पतालले दुई हजार पाँच सय रुपैयाँसम्म शुल्क लिएकाे प्रमाणसहितकाे उजुरी परेपछि साेहीआधारमा चितवन मेडिकल कलेजलाई १८ लाख रुपैयाँ र क्यान्सर अस्पताललाई आठ लाख रुपैयाँ धराैटी लिएर कारवाही गरेकाे चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
प्रशासन कार्यालयमा प्रमाणसहितको गुनासो आएपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले दुवै अस्पतालसँग बयान लिएकाे थियाे। दुवै अस्पताल दाेषी देखिएपछि क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमलाई आठ लाख रुपैयाँ धरौटी तोकर तारेखमा छाडेको उनले बताए। ‘चितवन मेडिकल कलेज अस्पताललाई भने १८ लाख रुपैयाँ धरौटी तोकेर तारेखमा छाडिएको उनले बताए। उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन २०३२ अनुसार मुद्दा दर्ता गरेर कारबाही सुरू गरिएको थियो।


























