काठमाडौँ ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकाेटाकाे उपस्थिति बिना नै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका छन्। प्रधानमन्त्री ओलीले हतार-हतारमा ल्याएकाे अध्यादेश मंगलबारको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गरिसकेकी छन्। नेपालको संविधान धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको हो। अध्यादेश जारी भएपछि अध्यक्ष र अन्य तीनजना सदस्यको उपस्थितिमा संवैधानिक परिषद् बैठक बसेर निर्णय लिन सक्नेछ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश सिफारिस गरेको थियो। संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। त्यसैगरी प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ। यस्तोमा बैठक गणपूरक संख्या पुग्न पाँचजना चाहिन्छ।
तर अहिले उपसभामुख पद खाली छ। यस्तोमा यो अध्यादेश आएसँगै अब प्रधानमन्त्रीले बैठक बहिष्कार गरिरहेका सभामुख सापकोटाको उपस्थितिबिना नै निर्णय गर्ने गरी अध्यादेश ल्याएका हुन्। यो अध्यादेशपछि अब संवैधानिक परिषद्का बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्छ। यसभन्दा पहिले अध्यक्ष र चारजना सदस्य उपस्थित भए मात्रै गणपूरक संख्या पुगेर बैठक बस्थ्यो। अब बहुमत सदस्यको उपस्थितिमा बैठक बसेर निर्णय लिन सक्ने भएको छ।


























