चितवन, मंसिर २८ । चितवनमा जारी गौतम बुद्ध कप प्रतियोगितामा राप्ती पहिलो जितसँगै फाइनलमा पुगेको छ।
आइतबार राप्तीले बागमतीलाई ११ रनले पराजित गर्दै फाइनलमा पुगेको हो। पहिलो खेलमा बागमतीलाई सुपर ओभरमा पराजित गरेको नारायणी पनि राप्तीको जितसँगै फाइनलमा पुगेको छ। दुबै खेलमा पराजित भएको ज्ञानेन्द्र मल्ल कप्तान रहेको बागमती भने बाहिरिएको छ। जितका लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा १ सय १८ रनमा अल आउट भयो। बागमतीका अलराउन्डर सोमपाल कामीले २८ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन्।
बागमतीका ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल चौथो ओभरको पहिलो बलमा ठूलो सट खेल्नेक्रममा मिडअफमा अमित श्रेष्ठबाट १३ रनमा क्याच आउट हुन पुगे। मल्लले १० बलमा २ छक्का प्रहार गरे। तीन बलपछि अर्का ओपनर सुनिल धमला कुशल भुर्तेलबाट ११ बलमा २ चौका सहित ११ रनमा क्याच आउट भए। नवौं ओभरको चौथो बलमा अनिल कुमार शाहलाई भुवन कार्कीले २२ रनमा क्याच आउट गराए। अनिलले १८ बलमा २ छक्का र १ चौका प्रहार गरे।
युवा ब्याट्सम्यान रोहित कुमार पौडेललाई स्पिनर सूर्य तामाङले दशौं ओभरको पहिलो बलमा १३ रनमा विनोद भण्डारीबाट क्याच गराएपछि बागमती ६०–४ को अवस्थामा पुगेको थियो। भिम सार्की ५ रनमा आउट हुन पुग्दा बागमती १३.५ ओभरमा ९४–५ को अवस्थामा पुगेको थियो। सोमपाल कामीलाई भुवन कार्कीले १६ औं ओभरको दोस्रो बलमा बोल्ड आउट गरे।
१९ औं ओभरको चौथो बलमा अभिनाश बोहराले विक्रम सोबलाई ८ रनमा कुशल भुर्तेलबाट क्याच गराएका थिए। अन्तिम बलमा पवन सरार्फलाई अभिनासले १० रनमा बोल्ड आउट गरेपछि बागमतीको जितको सम्भावना टाढिएको थियो।
भुवन कार्कीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए। कमलसिंह ऐरीले ४ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए। अभिनाश बोहराले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए। जितेन्द्र मुखियाले ३.४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए।
त्यसअघि गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर ब्याटिङ थालेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो। राप्तीका ओपनर अमित श्रेष्ठले ३३ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २६ रनको योगदान दिए।
तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेललाई ३ रनमा एलबिडब्लू आउट गरेका थिए। दोस्रो विकेटका लागि अमित र शरद भेषावकरले ४० रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए। सागर ढकालको सातौं ओभरको पाँचौ बलमा ठूलो सट खेल्नेक्रममा अघि बढेर सट खेलेका शरद मिस हुँदा विकेटकिपर अनिल कुमार शाहबाट स्टम्पिङ आउट हुन पुगे।
शरदले १५ बलमा ३ चौका र १ छक्का सहित २१ रन जोडे। सागरलेनै ११ औं ओभरको पाँचौ बलमा विनोदलाई २१ रनमा बोल्ड आउट गरे। कप्तान विनोदले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे।
१४ औं ओभरको चौथो बलमा स्पिनर ललितनारायण राजवंशीले लोकेश बमलाई कप्तान ज्ञानेन्द्र मल्लबाट १५ रनमा क्याच आउट गराए। बमले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे। सोमपालले भुवन कार्कीलाई शून्यमा बोल्ड आउट गर्दा राप्ती १४।३ ओभरमा ९३–६ को अवस्थामा पुगेको थियो। कमलसिंह ऐरी १६, जितेन्द्र मुखिया ९ र अभिनाश बोहराले ७ रनको योगदान दिए।
बागमतीका तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। स्पिनर सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए। युवा तीव्र गतिका बलर राशिद खानले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। विक्रम सोब र ललित नारायण राजवंशीको नाममा एक एक विकेट रह्यो।
पहिलो खेलमा बागमती नारायणीसँग सुपर ओभरमा पराजित भएको थियो। तीन टोलीबीच भएको यस गौतम बुद्ध कपमा लिग चरणको अन्तिम खेलमा सोमबार राप्ती र नारायणी भिड्ने छन्। फाइनलमा पनि यी दुई टोलीबीच मंगलबार प्रतिस्पर्धा हुने छ।


























