काठमाडौं, मंसिर २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा छुटा-छुटै पेश गरेको राजनीतिक प्रस्तावले उत्पन्न विवाद थप गिजोलिएको छ।
अध्यक्ष ओलीलाई जसरी भएपनि गलाउने रणनीति दाहाल र माधव नेपाल पक्षको छ भने ओली बैठक नै निरन्तर छल्ने पक्षमा छन्। यसबीचमा, पार्टीको निर्णय अध्यक्ष ओलीले मान्नुपर्छ भन्नेको पनि कमी छैन भने अध्यक्षद्वयबीच पछिल्लो समय भएका छलफल पनि निरर्थक सावित भएका छन्।
स्थायी कमिटी बैठक आज (आइतबार) पुनःबस्दैछ तर, सहमति जुटेर विवाद समाधान हुने छाँटकाँट भने देखिएको छैन। नेकपाको स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्दैछ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव अध्ययन गर्न दिइएको समय सीमा आइतबार सकिँदा त्यसमाथि छलफल गराउने प्रचण्ड–नेपाल पक्षको अडान छ।
उता, कमिटीको बैठकमा सहभागी नै नजनाउँदै प्रचण्डको प्रस्तावलाई नमान्ने निर्णय गरेका ओली छलफल गर्न नमिल्ने अडानमा छन्। बरु, अध्यक्षद्वयको समान प्रस्ताव ल्याउनुपर्ने ओलीको मागमा प्रचण्ड–नेपाल पक्षको खास रुची छैन।
जसरी भएपनि ओलीलाई दबाब दिएर गलाउने रणनीतिले विवाद थप गिजोलिएको छ। उता, राष्ट्रपति विद्या देवी भण्डारीले विवाद मिलाउन अध्यक्षद्वयलाई तारान्तार बोलाएर समाधानका उपाय खोज्न आग्रह गरिरहेकी छन्।
आज बस्ने बैठकमा ओलीलाई जसरी पनि सहभागिता गराउने प्रचण्ड–माधव समूहको जोड छ। सोही अनुसार अध्यक्षद्वयबीच पछिल्लो दुई दिन छलफल पनि भए। अध्यक्ष प्रचण्डले बालुवाटारमा संवाद गर्दै बैठकमा उपस्थितिका लागि आग्रह गरेका छन्।
तर, त्यसमा अध्यक्ष ओलीले कुनै प्रतिक्रिया जनाएका छैनन्। ओली बैठकमा उपस्थित हुनैपर्ने उनीहरूको माग छ। रामबहादुर थापासँग पनि छलफल गरेर पार्टीमा बहुमतको खेल हुन नदिन र एकता जोगाउनका लागि राष्ट्रपति भण्डारीले आग्रह गरेपनि थापाले स्थायी कमिटीमा प्रस्ताव गरेको कार्यदलको विषयलाई नेपाल समूहले अस्वीकार गरिसकेका छन्।
त्यतिमात्र नभई ओलीले बैठकमा उपस्थित जनाउन किन्तु परन्तु गर्न नहुने नेताहरु नै बताउन थालेका छन्। उता, स्थायी कमिटीमा बहुमतको जोडबल हुन थालेको छ। पछिल्लो समय अध्यक्ष ओली र दाहाल–नेपाल पक्षका नेताले तल्लो तहसम्म आफ्नो बहुमत भएको दावी गर्न गुटका भेला गर्न थालेका छन्।

























