चितवन, २८ । बागमती प्रदेश क्रिकेट संघको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सहआयोजनामा हिजो देखि सुरु भएको गौतमबुद्ध कपमा आज दोस्रो खेल हुँदैछ। आज हुने खेलमा बागमती र राप्तीबीच प्रतिस्पर्धा हुँदैछ।
राप्ती बिनोद भण्डारीको कप्तानीमा रहेको छ भने बागमतीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन्। सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा तीन टिम सहभागी छन्।
शीर्ष दुई स्थानको टिमले मंसिर ३० गते फाईनल खेल खेल्नेछन्। राप्तीको आजको खेल पहिलो हो भने बागमती हिजो नारायणीसँग सुपर ओभरमा पराजित टिम रहेको छ।
धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा जनस्तरबाट निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन्।
फाइनल पुग्न बागमतीलाई आजको खेल जित्ने पर्ने दबाब रहेको छ। राप्ती एक खेल अगावै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रने छ। प्रतियोगितामा वाग्मती, नारायणी र राप्ती गरी तीन टिमको सहभागिता रहेको छ।


























