काठमाडौं, मंसिर २५ । विश्व स्वास्थ्य संगठनले विश्वका १६ प्रतिशत जनसंख्याको मृत्युको कारण मुटुरोग भएको प्रतिवेदन सार्वजनिक गरेको छ। संगठनले सन् २००० देखि २०१९ सम्मको तथांकलाई लिएर गरेको अध्ययनमा नसर्ने रोगबाट मृत्यु हुने कारणमा मुटुरोग पहिलो नम्बरमा देखाएको छ।
९ डिसेम्बरमा सार्वजनिक गरिएको ग्लोबल हेल्थ इस्टिमेट २०१९ नामक प्रतिवेदनमा १९ वर्षको अवधिमा मुटुरोगबाट मृत्यु हुनेको संख्या २० लाखबाट बढेर ९० लाख पुगेको उल्लेख गरिएको छ। मुटुरोगपछि क्यान्सर, मधुमेह र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगलाई मृत्युको प्रमुख कारण देखाइएको छ। अमेरिका र युरोपियन मुलुकहरुमा भने अल्जाइमर र डिमेन्सियासँग सम्बन्धित रोगहरु मृत्युको दोस्रो कारण देखाइएको छ।
विश्वमा डिमेन्सियासम्बन्धी रोगबाट मृत्यु हुनेमा ६५ प्रतिशत महिला छन्। प्रतिवेदनअनुसार निमोनिया र गम्भीर प्रकृतिका श्वासप्रश्वास सम्बन्धी रोग मृत्युको चौथो कारणको रुपमा उल्लेख गरिएको छ। मध्यम आय भएका मुलुकहरुका लागि भने सरुवा रोग नै अझै चुनौतीकारुपमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। जसमा मलेरिया, एचआइभी, क्षयरोगलगायत छन्।
त्यस्तै सरुवा रोगपछि सवारी दुर्घटना मृत्युको अर्को प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ। अफ्रिकन मुलुकहरुमा सवारी दुर्घटनाको दर दुईदशकमा ५० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। सवारी दुर्घटनाका कारण पूर्वीय मुलुकहरुमा ज्यान गुमाउनेमा ७० प्रतिशत पुरुष रहेको पनि प्रतिवेदनमा उल्लेख छ।


























