विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोग (कोभिड-१९) को औषधि एवं भ्याक्सिन बनाउनका लागि संसारका अनेकौँ प्रयोगशालामा विभिन्न अनुन्धानहरू भइरहेका छन्। तथापि यो रोगको कुनै खास औषधि एवं भ्याक्सिन बन्न सकेको छैन। साथसाथै आज पूरा विश्व यस महामारीलाई नियन्त्रण गर्ने प्राकृतिक उपायहरूको विषयमा पनि उत्तिकै सोचिरहेको छ। यिनै प्राकृतिक विधिहरू मध्येको एउटा अचुक विधि हो, उपवास चिकित्सा।
उपवास चिकित्सा गरेर कोभिड-१९ लाई ९० प्रतिशतसम्म लगाम लगाउन सकिन्छ। यो कुरा हालसालै प्रमाणित पनि भइसकेको छ। तर चिकित्सा विज्ञानको मूलधारले महत्त्व नदिँदा यो उपचार विधिले खासै महत्त्व पाउन सकेको छैन। लेखकले हालसम्म ३६० जना कोभिड-१९ का बिरामीहरूकाे उपचार गरिसकेकाे छ। उपवास गराएरै मृत्युन्मुख कोभिड-१९ का बिरामीहरूलाई समेत बचाउन सफल भएको हुँदा जनसामान्यका लागि पनि सहज होस् भनेर यो लेख तयार पारिएको हो।
के हो उपवास चिकित्सा ?
उपवासलाई हामी व्रत पनि भन्ने गर्दछौं। उपवास गर्दा व्याक्तिले निश्चित समयका लागि खाना त्याग गर्ने वा क्यालोरी ग्रहणमा रोक लगाउने गर्दछ। यसर्थ उपावास भन्नाले निश्चित अवधिका, आफ्नै इच्छामा कुनै प्रकारका खानेकुराको त्याग गर्नु वा क्यालोरी ग्रहणमा लगाइएको रोकलाई जनाउँदछ। प्राच्य स्वास्थ्य विज्ञानले उपवासलाई ‘सर्वे रोग मल वशः लंघनम् परम औषधम्’ अर्थात् सबै रोगको कारण भनेको शरीरमा संकलित मल (विजातीय द्रव्य) हो र संकलित मलको सर्वोच्च निष्कासन गर्ने उपवास परम औषधि हो भनी परम औषधिको रूपमा व्याख्या गरेको छ।
आधुनिक चिकित्सा विज्ञानले पनि उपवास गरेर अनेकौँ असाध्य रोगहरूलाई जित्न एवं रोकथाम गर्न सकिने तथ्य पत्ता लगाइसकेको छ। सन् २०१६ मा जापानी वैज्ञानिक यासुनुरी यसुमीलाई उपवास फिजीयोलोजीमा गरेको महत्त्वपूर्ण खोज एवं अनुसन्धानका कारण विश्वविख्यात नोबल पुररस्कारद्वारा सम्मान गरिएको थियो।
कोभिड-१९ संक्रमण र प्रतिरक्षा
उपवास चिकित्सा परापूर्वकालदेखि प्रचलित उपचार पद्धति हो। दीर्घ तथा जीर्ण रोगहरूलाई जित्न दीर्घकालीन उपवास प्राचीन समयदेखि नै प्रचलित थियो भने सरूवा रोग एवं महामारीहरूमा अल्पकालीन एवं आवधिक उपवास गर्ने गरिन्थ्यो। सन्निपात ज्वरो होस् वा आँठे आउँदा होस्, हाम्रा पितापूर्खाले ठूला-ठूला महामारीहरूलाई समेत प्रतिकार गर्ने हाम्रो अमोध अस्त्र नै उपवास थियो।
कोभिड-१९ मूलतः सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम कोरोना भाइरस-२ को संक्रमणद्वारा हुने श्वासप्रश्वाससम्बन्धी समस्या हो। कोभिड-१९ वा सार्स कोभ-२ को लक्षण सन् २००३ मा देखा परेको सार्स कोभ र सन् २०१२ मा देखा परेको मर्स कोभसँग मिल्दाजुल्दा छन्।
यो रोग लाग्दा कोरोना भाइरसले फोक्सोका कोषहरूलाई आक्रमण गर्दछन् र ती कोषहरूमा भाइरस पसेर वितण्डा मच्चाउन थाल्दछ। कोरोना भाइरस कोषभित्र पस्न एञ्जियोटेन्सिन कन्भटिङ्ग इञ्जाइम-२ रिसेप्टारसँग बाँधिनु पर्दछ। रिसेप्टारसँग बाँधिएर भाइरस कोषभित्र पसिसकेपश्चात् अनियन्त्रित रूपमा वृद्धि हुँदै जाने र कोषहरूलाई क्षति पुर्याउने गर्दछ। भाइरसको आक्रमणमा परेर यसरी कोषहरू क्षतिग्रस्त हुन थालेपश्चात् फोक्सोको स्थानीय प्रतिरक्षा प्रणाली सक्रिय हुन थाल्दछ। फलतः म्याक्रोफेज, मोनोसाइटहरू र डेन्ड्रियटिक कोषहरू सक्रिय भई भाइरस संक्रमणलाई लगाम लगाउने प्रक्रियाको थालनी गर्दछन्।
भाइरस संक्रमण हुँदा अधिकांश अवस्थामा हाम्रो प्रतिरक्षा प्रणालीले संक्रमणलाई जित्दछ र रोग ठीक हुन्छ। तर केही अवस्थाहरूमा बिरामीको स्थिति खराब हुँदै जान्छ र निमोनिया हुने, श्वास फेर्न गाह्रो हुने र ज्यानै पनि जान सक्ने हुन सक्छ। यसर्थ अधिकांश भाइरस संक्रमणको औषधि भनेकै हाम्रो प्रतिरक्षा प्रणालीको सशक्तीकरण नै हो। उपवास यस्तो फिजियोलोजिकल विधि हो, जसको विधिवत प्रयोग गर्न जाने प्रतिरक्षा प्रणालीलाई तुरून्त सशक्त बनाइदिन्छ र कोभिड-१९ जस्तो घातक रोगबाट पनि हामीलाई बचाउँदछ।
उपवास र अटोफेजीको प्रेरणा
हाम्रो शरीरमा विद्यमान कोषहरूमा दैनिक हजारौँ जैविक, रासायनिक क्रियाहरू भइरहेका हुन्छन्। यी क्रियाहरूको उपजस्वरूप कोषहरूमा अनेकौँ प्रकारका काम नलाग्ने, विषाक्त एवं उत्परिवर्तित रसायनहरूको उत्पादन पनि भइरहेको हुन्छ। यी रसायनहरूका अलावा काम नलाग्ने कोषकीय अंङ्ग वा बाहिरबाट आएका रोगकारक जीवाणु, विषाणु, ढुसी वा परजीवीहरूले पनि कोषलाई क्षति पुर्याउन सक्दछ। र, ती विजातीय द्रव्यहरूलाई तुरून्त नष्ट गर्नुपर्ने हुन्छ।
कोषहरूमा भएका यी तत्वहरूको विनाश गर्नका लागि लाइसोजोम निर्भर एक किसिमको कोषकीय प्रक्रिया छ, जसलाई कोष विज्ञानको भाषामा अटोफेजी भनिन्छ। अटोफेजी प्रक्रियामा विजातीय रसायनहरू, कोषमा काम नलाग्ने अंङ्गहरू र बाहिरबाट आएका हानिकारक जीवाणुहरूलाई पचाउनका लागि कोषभित्रै दुईपत्र भएको थैलीको निर्माण गरी इञ्जाइमहरूको माध्यमद्वारा पाचाउने गरिन्छ। यी विषाक्त तत्वहरूको पाचनपश्चात ग्लुकोज वा अन्य सुगर, न्यूक्लियोटाइडस, एमाइनो एसिड, फ्याट्टी एसिडजस्ता पोषक तत्वहरूको उत्पादन हुन्छ। र, यी तत्वहरूको उपयोग कोषले पुनः गर्दछ।
यदि कोषभित्र आक्रमण गर्ने विजातीय द्रव्य भाइरस भए भाइरसलाई पनि अटोफेजी प्रक्रियाद्वारा नै नष्ट गर्ने गरिन्छ। बाहिरबाट गएका ब्याक्टेरिया, भाइरस, फङ्गस र परजीविहरूलाई नष्ट गर्ने यो कोषकीय प्रक्रियालाई कोष विज्ञानको भाषामा जीनोफेजी भन्ने गर्दछौँ। जिनोफेजी प्रक्रिया पनि कोषभित्र पसेका भाइरसहरूलाई विघटित गर्ने विधि हो।
सार्स–कोभ-२ को आक्रमण हुँदा यदी हामीले उपवास गर्यौँ भने कोष-कोषमा जिनोफेजी प्रक्रिया उत्प्रेरित भई भाइरसलाई प्रतिरक्षा प्रणाली सक्रिय हुनुपूर्व नै नष्ट गरिदिन्छ। अटोफेजी प्रक्रियाद्वारा भाइरस नष्ट गर्न मुख्यतः लाइसोजोमल इन्जाइम प्रणाली सक्रिय हुन जरूरी छ। यस प्रक्रियामा सर्वप्रथम फेगोफोरको निर्माण, त्यसपछि फेकोजोमको निर्माण र अन्तत्वगत्वा फेगोलाइसोजोम बनेर इन्जाइमहरूको माध्यमद्वारा भाइरसहरूलाई नष्ट गर्ने गरिन्छ।

यसका अतिरिक्त अटोफेजी प्रक्रिया कोषको जीवितता, मृत्यु, बुढ्यौली र प्रतिरक्षासँग पनि आवद्ध छ। अटोफेजी प्रक्रिया उत्प्रेरित भएमा प्रतिरक्षा प्रणालीका घटक कोषहरू जस्तैः टी–कोष, बी–कोष, लिम्फोसाइट्स, डेन्ड्रिटिक कोष, म्याक्रोफेजेज र नेचुरल किलर कोषहरूलाई समेत नियमन गरी व्यवस्थित तुल्याउँदछ। अटोफेजी प्रक्रियाले विशेषतः यी कोषहरूको उत्तरजीविता, समस्थिति, वृद्धि एवं बर्धन, सक्रियकरण र विभिन्नीकरणजस्ता क्रियालाई प्रभाव पार्ने गर्दछ। यसका अलावा अटोफेजी प्रक्रियाले प्रतिरक्षात्मक कोषहरूलाई एन्टिबडी र साइटोकाइन्स उत्पादन गर्न पनि प्रेरित गर्दछ।
यसैगरी, प्राकृतिक प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्न अटोफेजी उत्प्रेरणले प्राकृतिक प्रतिरक्षाका लागि आवश्यक नोड-लाइक-रिसेप्टार र टोल-लाइक-रिसेप्टारलाई उत्तेजित गर्ने गर्दछ। यी रिसोप्टारहरू उत्तेजित भएपश्चात् साइटोकाइन्सहरूको उत्पादन, नेचुरल-किलर-कोष र टी-कोषहरूको सक्रियकरण र फेगोसाइटोसिस प्राकृतिक प्रतिरक्षाका प्रक्रियाहरू सुरू हुन्छन्।
आर्जित प्रतिरक्षा प्रणालीका घटक जस्तै मेजर-हिस्टो-कम्पेबिलिटी-कम्प्लेक्स र एन्टिजिन प्रजेन्टेसन, लिम्फोसाइट्सहरूको विकास, थायमिक टी-कोषहरूको चयन, इन्फ्लामेसनको सूचन र साइटोकाइन्सहरूको नियमनमा अटोफेजीको उत्प्रेरणाले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। आर्जित प्रतिरक्षा प्रणालीलाई मुख्यतः सीडी-४+ र सीडी-८+ लिम्फोसाइट्स कोषहरूले नियनम गर्ने गर्दछ। सीडी-४+ लिम्फोसाइट्स र एन्टिजिन प्रजेन्टिङ कोष दुवैको सक्रियाताले परिपक्क टी-कोषको विकास गरी परिपक्व एन्टिबडीहरूको उत्पादन गर्दछ।
अटोफेजी प्रक्रियालाई बढावा दिन एन्टिजिन प्रजेन्टेसन र अटोफेजी एक्टिभेसन रिक्रुट एटीजी-८ र एलसी-३ को भूमिका हुन्छ। किनकि यी सबैले अटोफेजी प्रक्रियाको मुख्य घटक फेगोफोर बनाउनमा महत्वपूर्ण भूमिका खेल्दछ। एन्टिजिन प्रजेन्टिङ कोषमा अटोफेजी प्रक्रिया सुरू हुन भाइरल एन्टिजिनको एटीजी-८ र एलसी-३ जस्ता प्रोटिनहरूसँग संसर्ग भई मेजर हिस्टो कम्पेविलिटी कम्प्लेक्स-२ को माध्यमद्वारा सीडी-४+ टी-कोषलाई एन्टिजिन हस्तान्तरण गरी परिपक्क हेल्पर टी-कोष बनाउन मद्दत गर्दछ।
यसैगरी, मेजर हिस्टो कम्पेविलिटी कम्प्लेक्स-१ को माध्यमद्वारा हुने सीडी-८+ टी-कोष एक्टिभेसनमा पनि एन्टिजिन प्रजेन्टिङ कोषमा हुने अटोफेजी प्रक्रियाको ठूलो हात हुन्छ। अटोफेजी प्रक्रियाले टी-कोषहरूको उत्तरजीविता र वृद्धि-बर्धनमा पनि ठूलो मद्दत गर्दछ। साइटोकाइन्सको प्रेरणमा विकसित हुने टी हेल्पर सेल सबसेटको विकासमा अटोफेजीले टीएच-२ सबसेटको विकासलाई निषेध गर्ने र टीएच-१ सबसेटको विकासलाई बढावा दिने गर्दछ।
अटोफेजी प्रक्रियाले बी-कोषको विकास र उत्तरजीवितामा पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्दछ। अटोफेजी प्रक्रिया ठीक नभएको अवस्थामा बी-कोषहरूले पनि साइटोकाइन्स र एन्टिबडीहरूको उत्पादन गर्न सक्दैन। यसका अलावा अटोफेजीले प्लास्म कोषहरूको विभिन्नीकरण र एन्टिबडी उत्पादन गर्ने कार्य पनि गर्दछ। यसर्थ प्लाज्म कोषहरूलाई नियमितरूपमा एन्टिबडीहरूको उत्पादन गर्न अटोफेजी प्रक्रियाको सहयोग चाहिन्छ।
उपवासले कसरी अटोफेजीलाई उत्प्ररित गर्दछ ?

अटोफेजी प्रक्रियाको सुरूवात कोषहरूलाई तनाव भएको बेलामा वा कोषलाई खानेकुरा नभएको बेलामा हुने गर्दछ। अटोफेजी प्रक्रियाद्वारा कोषले खेर फालिएका, हानिकारक एवं विजातीय तत्वहरूलाई रिसाइकल गरेर पुनः उर्जा बनाउनमा प्रयोग गर्ने गर्दछ। जब कोषलाई पर्याप्त मात्रामा खानेकुरा मिल्दैन वा कोष तनावमा आउँछ, त्यस अवस्थामा युएनसी-५१ लाइक काइनेज (युएलके) कम्प्लेक्सको उत्प्रेरणा सुरू हुन्छ। (यूएलके) कम्प्लेक्ससँग एउटा एम-टीओआर प्रोटिन पनि जोडिएको हुन्छ। जब हामी उपवास गर्दछौँ, त्यस अवस्थामा (यूएलके) कम्प्लेक्सबाट एम-टीओआर अलग हुन्छ र त्यसपछि अटोफेजी प्रक्रियाको सुरूवात हुन्छ।
यसैगरी, उपवास गर्दा अटोफेजीसँग आवद्ध थुप्रै प्रोटिनहरू जस्तैः एटीजी-६, एटीजी-७, एटीजी-८, एलसी-३-२, पी-६२, बेक्लिन-१, सर्ट-१, एलएएमपी-२, एटीजी-१०१ को पनि उत्पादन हुनेहुँदा अटोफेजी सुरू हुन्छ। अटोफेजीलाई निरूद्ध गरिएमा भाइरसहरूको रिप्लिकेसन बढ्न गई संक्रमण बढ्दछ। अथवा संक्रमण बढेको अवस्थामा भाइरसले नै अटोफेजीलाई निरूद्ध पनि गर्दछ।
हालसालैका अध्ययनहरूले पनि सार्स-एन-कोभ-२ को संक्रमणले पनि अटोफेजी प्रक्रियालाई निरूद्ध गर्ने गर्दछ र अटोफेजी उत्पेरणा गर्ने औषधिको सेवनले यो संक्रमण नियन्त्रण गर्न मद्दत गर्दछ। ठीक यसैगरी उपवास गर्दा अटोफेजीको उत्प्रेरणा हुने हुँदा सार्स-एन-कोभ-२ को संक्रमण रोक्दछ। उपवास बस्दा हाम्रो शरीरका कोषहरूमा अटोफेजी प्रक्रियाको सुरूवात हुन्छ। अटोफेजी प्रक्रियाको सुरूवात भएपश्चात् प्रतिरक्षा प्रणाली पनि सशक्त हुन्छ।
सार्स-एन-कोभ-२ इन्फेक्सन हुँदा पनि भाइरस फोक्साको कोषभित्र पसेर कोषहरूको प्रणाली कब्जा गरेर रेप्लिकेट हुने हुँदा यसले फोक्सोका कोषहरू क्षतिग्रस्त हुन्छन्। यसर्थ भाइरसहरूको कारणले हुने कोषकीय क्षतिलाई रोक्न उपवास चिकित्साको वैज्ञानिक प्रयोग गरी कोष-कोषमा अटोफेजी उत्प्ररित गर्नुपर्ने हुन्छ।

कसरी गर्ने उपवास ?
कोभिड-१९ संक्रमण हुँदा सरल तरिकाले गर्न सकिने भनेको आवधिक उपवास यानिकी इन्टरमिटेन्ट फास्टिङ हो। इन्टरमिटेन्ट फास्टिङमा संक्रमितले २४ घण्टाको समयलाई ८ घण्टा खाना खाने समय र १६ घण्टा भोकै बस्ने समय भनेर छुट्याएको हुन्छ। यसरी छुट्याउँदा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको अवधिलाई खाना खाने समय र साँझ ५ बजेदेखि बिहान ९ बजेसम्मको अवधिलाई भोकै बस्ने समय भनेर छुट्याउँदा राम्रो हुन्छ। यस ८/१६ को समयलाई ६/१८ र बिस्तारै बढाएर ४/२० पनि गर्न सकिन्छ।
यसरी खाना खाने र भोकै बस्ने अवधि छुट्याएर उपवास बस्दा खाना खाने अवधिमा भने प्रसस्त मात्रामा पौष्टिक तत्व लिनुपर्ने हुन्छ। खानामा विशेषतः उच्च रेसा र चोकर भएको, झोलिलो, प्रसस्त भिटामिन एवं एन्टिअक्सिडेन्टयुक्त खाना खानुपर्ने हुन्छ। यदि तपाईं प्राकृतिक चिकित्सालयमा हुनुहुन्छ भने पहिले छोटो अवधिको उपवास गरेर अनि आवधिक उपवास गर्न सक्नुहुन्छ। तपाईं संक्रमित होइन र उपवास कोभिड-१९ को रोकथामका लागि गर्दै हुनुहुन्छ भने प्राकृतिक चिकित्सकको सल्लाहमा लामो, छोटो, मध्यम वा आवधिक उपवास गर्न सक्नुहुन्छ।
(डा. कोइराला भरतपुर-१ बागीश्वरी, देवघाटधामस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन्)