चितवन ९ मंसिर । लैङ्गिक हिंसारहित समाज निर्माणकाे उद्देश्यसहित नोभेम्बर २५ तारिखबाट विश्वभर लैंगिक हिंसाविरुद्धकाे १६ दिने अभियान शुरु हुँदैछ। नेपालमा पनि भाेलि बुधबारबाट याे अभियान शुरु हुँदैछ। हरेक वर्ष नाेभेम्बर २५ बाट शुरु भई डिसेम्बर १० मा सकिने याे अभियान सफल बनाउन यसपटक पनि चितवनमा विभिन्न खालकाे कार्यक्रम हुने भएकाे छ। भाेलि अभियानको पहिलो दिन चितवनमा ‘एक सपना साइकल र सफा नेपाल’ सम्बद्ध अभियन्ता तथा वाह बाइक भरतपुरले लैङ्गिक हिंसाविरुद्द सचेतनामुलक साइकल र्याली आयोजना गर्दैछ। नारायणगढकाे पोखरा बसपार्कबाट शुरु हुने उक्त र्याली पुल्चोक, चाैबीसकाेठी, क्यान्सर अस्पताल, हाकिमचोक, बाइपास रोड, आँपटारी हुँदै पोखरा बसपार्कमै पुगेर समापन हुनेछ। सचेतनामुलक र्यालीलाई चितवन उद्याेग संघ, भरतपुर महानगरपालिका वडा न १ कार्यलय, होटेल हिमचुली, दियालो परिवारका अध्यक्ष सुरेश खनाल तथा नौलो फुड्स इण्डष्ट्रिजले सहयाेग गरेकाे छ।
दुवै संस्थाले ‘लैंगिक हिंसाको अन्त्यः मेरा सपना’ शीर्षकमा भिडियो निबन्ध प्रतियोगितासमेत आयोजना गरेका छन्। कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुने पाउने उक्त प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने एक जनाले वाह बाइकको तर्फबाट एउटा माउन्टेन बाइक पुरस्कार पाउनेछन्। मंसिर १८ सम्म आइपुग्ने भिडियो निबन्धहरुमध्ये उत्कृष्ट एउटालाई २५ मंसिर गते परेको विश्व मानव अधिकार दिवस तथा सोह्र दिने अभियानको अन्तिम दिन पुरस्कार प्रदान गरिनेछ। सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो। उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ। एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो।



























