काठमाडौं, मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीभित्रको विवाद गम्भीर भएपनि सहमति जुट्ने दावी गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले अन्तिमसम्ममा सहमति जुट्ने दावी गरेका हुन्।
‘पार्टीलाई एकताबद्ध बनाएर लैजान प्रतिबद्ध छु, पार्टी एकताको अन्तिम कडी चुडिएको नठानियोस्’ प्रचण्डसँगको भेटपछि उनको भनाइ उदृत गर्दै पार्टी कार्यालय परिसरमा नेम्वाङले भने, ‘स्थिती अलि गम्भीर भएको छ, अहिले पनि प्रयास गरेर एकताबद्ध गर्ने ठाउँ छ।’
प्रचण्डले सचिवालयमा ७ पृष्ठ लामो पत्र र १९ पृष्ठ लामो प्रतिवेदन पेश गरेपछि नेकपा विवाद जटिल मोडमा पुगेको विश्लेषण भइरहेको छ। अर्का अध्यक्ष केपी शर्मा ओली पक्षले प्रचण्डको सो आरोप पत्र फिर्ता गर्नुपर्ने बताउँदै आएको छ।
नेता नेम्वाङले पार्टीलाई एकजुट र एकढिक्का बनाएर लैजान प्रधानमन्त्री एवं अध्यक्ष ओली समेत प्रतिबद्ध रहेको बताए। पार्टी विवाद उत्कर्षमा पुगेको बेला प्रचण्डले शुक्रवार नै महासचिव विष्णु पौडेलसँग धुम्बाराहीमा छुट्टै छलफल गरेका थिए।
प्रचण्डसँग शुक्रवार भएको भेटपछि पत्रकारहरूसँगको प्रतिक्रियामा पौडेलले परिस्थिती धेरै गम्भीर रहेको बताएका थिए। ‘परिस्थिती धेरै गम्भीर छ’ पत्रकारहरुले बोल्न कर गरेपछि पौडेलले यति प्रतिक्रिया दिए।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले लेखेको पत्र र पेश गरेको राजनीतिक दस्तावेजका कारण नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ। ओली पक्षले सो प्रस्ताव फिर्ता लिन प्रचण्डसँग आग्रह गरेको छ।
बुधवार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको पत्रको जवाफ दिने बताएका छन्। १३ गते अगावै सहमति गर्नको लागि नेकपामा दोस्रो तहका नेताहरुको दौडधूप चलिरहेको छ।


























