मंसिर ३ । इजरायलका युद्धविमानहरूले सिरियामा रहेका इरानी अड्डाहरूमा बुधवार आक्रमण गरेका छन्। त्यसक्रममा उनीहरूले १० जना सिरियाली र विदेशी लडाकूहरूलाई मारेका छन्।
इजरायलको कब्जामा रहेको गोलान हाइट्सको एक सैन्य अड्डा नजिक विस्फोटक पदार्थहरू फेला परेपछि इजरायली सेनाले प्रतिशोधात्मक आक्रमण गरेको बताएको छ। सन् १९६७ मा ६ दिनको युद्धपछि इजरायलले गोलान हाइट्समा कब्जा गरेदेखि इजरायल र सिरिया प्राविधिक रूपमा युद्धरत छन्। अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओ वार्ताका लागि इजरायल आउनुभन्दा केही घन्टाअघि उक्त हवाई आक्रमण गरिएको हो।
इजरायली सेनाले जारी गरेको बयानअनुसार, लडाकू विमानहरूले इरानको कुद्स फोर्स र सिरियाली सशस्त्र बलको सैन्य अड्डामा आक्रमण गरेका हुन्।
कुद्स फोर्स इरानको रिभोल्युसनरी गार्ड्सको विदेश मामिला हेर्ने शाखा हो। भण्डारण गृह, जंगी अड्डा र सैन्य प्रांगणहरूका साथै जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रमा पनि आक्रमण गरिएको हो। एजेन्सी


























