चितवन २ मंसिर । चितवनमा हालसम्ममा तीन हजार ८९५ जना काेराेना संक्रमणबाट मुक्त भएका छन्। पाँच हजार २६४ जनामा संक्रमण पुष्टि हुँदा तीन हजार ८९५ जना संक्रमणमुक्त भएका हुन्। हालसम्म ८० जनाले ज्यान गुमाएका छन् भने एक हजार २८९ जना सक्रिय संक्रमित विभिन्न आइसाेलेसनमा उपचाररत छन्। बैशाख ५ गते पहिलाे पटक काेराेना भाइरसकाे संक्रमण देखिएकाे थियाे। संक्रमण देखिएकाे सात महिनापछिकाे तथ्याङ्क हेर्दा ७४ दशमलव १४ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका हुन्। काेराेना संक्रमितकाे संख्या थपिँदै जाँदा संक्रमणमुक्त हुनेकाे संख्या पनि बढ्दै गएकाे छ। कात्तिक मसान्तसम्मकाे तथ्याङ्क हेर्दा सक्रिय संक्रमित २४ दशमलव ४८ प्रतिशत छ भने १ दशमलव ५१ प्रतिशत संक्रमितले ज्यान गुमाएका छन्।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार चितवन जिल्लामा हालसम्म २९ हजार २३१ जनाकाे नमुना संकलन गरेर परीक्षण गरेकाे थियाे। कूल परीक्षणमध्य जम्मा १८ प्रतिशतमा मात्रै काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे उनले बताए। तीमध्ये सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाभित्रका छन्। भरतपुर महानगरपालिकाभित्र मात्रै तीन हजार ६६७ जना संक्रमित रहेका उनकाे भनाइ छ। त्यसपछि रत्ननगर नगरपालिकामा ६५४, खैरहनीमा ३६४, राप्तीमा २९०, कालिकामा १५५, माडीमा १०३ र इच्छाकामना गाउँपालिकामा ३१ जना संक्रमित रहेकाे उनले बताए।



























