तनहुँ, कात्तिक २८ । पछिल्लाे केही दिनयता चर्चामा रहेकाे मानहुँकाेटमा पर्यटकीय क्षेत्रकाे लागि गण्डकी प्रदेशले चासाे देखाएकाे छ। पर्यटन, उद्योग तथा वातावरण मन्त्रालयका कार्यक्रम संयोजक जुद्ध गुरुङको नेतृत्वमा शुक्रबार एक टोली व्यास नगरपालिका–५ मानहुँकोट आइपुगेकाे छ। उक्त टोलीले व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र सोही वडाका अध्यक्ष मोहनकुमार श्रेष्ठसँग मानहुँकोटको बारेमा जानकारी लिएको छ। मन्त्रालयका कार्यक्रम संयोजक गुरुङले पर्यटनमा मानहुँकोटको भविष्य उज्ज्वल रहेको बताए।

स्थानीय तहले मानहुँकाेटकाे विकासमा सक्रियता देखाएकाेमा प्रदेश सरकारले पनि थप सहयोग गर्ने उनले प्रतिवद्धता जनाए। मानहुँकोटमा गर्नुपर्ने कामहरु धेरै भएकाेले गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने कार्यक्रम संयाेजक गुरुङले बताए। गण्डकी प्रदेशका विभिन्न ठाउँका ११० गन्तव्य विकास गर्ने प्रदेश सरकारको योजना रहेकोमा मानहुँकोटलाई पनि त्यसभित्र समेटेर लैजाने उनले बताए। मानहुँकोटमा तत्कालै केही पूर्वाधार निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गरिने उनकाे भनाइ छ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भने मानहुँकोटको विकासका लागि नगरपालिकाले गुरुयोजना निर्माण गर्न लागेको बताए। यहाँ रहेका जग्गाहरुको एकीकृत व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित जग्गाको अध्ययनसमेत भइरहेको उनले बताए। मानहुँकाेटमा आगामी दिनमा बन्ने भौतिक संरचनालाई मौलिक बनाउने गरी नगरपालिकाले सिफारिस गर्ने उनकाे भनाइ छ। – समाचार राससकाे सहयाेगमा/फाेटाे काेमलचन्द्र भगत


























