कार्तिक २१ । दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा फेरि लकडाउन भएको छ। इटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले (आज) शुक्रबारदेखि दुई हप्तासम्म लकडाउन गरिएको हो। इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ।
कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएका छन्। यसअघि इटालीमा पहिलोपटक गत मार्च महिना लकडाउन गरिएको थियो।
लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसहरुलाई आउजाउ गर्न रोक लगाइएको छ। स्वास्थ्यसहितका अत्यावश्यक काममा भने सेल्फ प्रमाणीकरणको सर्टिफिकेटसहित बाहिर निस्कन दिइने जनाइएको छ। संक्रमणको संख्या अत्यधिक बढेसँगै इटालीका अस्पतालमा बिरामी राख्ने ठाँउको पनि अभाव हुन थालेको बताइएको छ। इटालीका सञ्चार माध्यमहरुका अनुसार अस्पतालमा बिरामी राख्ने ठाँउ अभावले एम्बुलेन्समै घण्टौँसम्म बिरामी राख्नु पर्ने बाध्यता हुन थालेको छ।
यो समाचार तयार पार्दासम्म इटालीमा कोरोनाका कारण ४० हजार १९२ जनाको मृत्यु भएको छ। संक्रमित संख्या ८ लाख २४ हजार ८७९ छ। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ३४ हजार संक्रमित थपिएका छन्। एजेन्सी


























