कार्तिक २० । एकपछि अर्का फिल्मकर्मी कोरोना संक्रमित भइरहेको अवस्थामा अभिनेत्री ऋचा शर्मालाई पनि तीन हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो। तीन हप्ता सेल्फ क्वारेन्टिनमा बसेपछि उनले कोरोनालाई जितेकी छन्। गएको मंगलवार गराएको पिसिआर परीक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो। उनले फेसबुकमार्फत् आफू कोरोनामुक्त भएको जनाएकी छन्।
आफूले कोरोना जितेको खुसी साट्दै उनले लेखेकी छन्, ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटुट सत्य हो र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व। भनिन्छ कि पढेर जानिन्छ कि परेर। यस भयावह अवस्थाबीच म पनि कोरोनाबाट संक्रमित हुन पुगेँ । पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेन्टिनमा बसी अब सम्पूर्ण रुपमा स्वस्थ भएको छु।’
उनले अगाडि लेखेकी छन्, ‘कोरोनाको बारे हामीलाई अझै स्मपुर्ण ज्ञान नभएको, नयाँ फाइन्डिङहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु। कोरोना जित्न मैले के गरेँ, खानपान, जीवन शैलीबारे छिटै यहाँहरुलाई जानकारी गराउने छु।’ उनले यो समयमा अग्रपंक्तिमा रहेर काम गर्नेलाई धन्यवाद दिएकी छन्।




















