कार्तिक १९ । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकतर्फका प्रत्यासी जो बाइडेनले निर्वाचनमा विजयी दिशातर्फ गइरहेको विश्वास रहेको बताएका छन्। अहिलेसम्म मतगणना भएका राज्यमध्ये बाइडेनले धेरै इलेक्टोरल भएका राज्य आफ्नो पक्षमा पारेका छन्। राष्ट्रपतिय निर्वाचनमा कुल ५ सय ३८ इलेक्टोरेलमध्ये २ सय ७० इलेक्टोरेल जसको पक्षमा आउँछ, उही निर्वाचित हुन्छ।
डेलवेरबाट सम्बोधन गर्दै बाइडेनले भने, ‘हामीलाई थाहा थियो यो लामो हुनेछ। सायद भोलि बिहान या त्योभन्दा बढी। हामी जहाँ छौँ हामी खुसी छौँ। हामीलाई विश्वास छ हामी यो निर्वाचन जित्ने दिशामा छौँ।’ उनले हरेक मत र मतपेटिका नगनेसम्म यो प्रक्रिया नसकिने जिकिर गरे।
पछिल्लो परिणामअनुसार बाइडेनको पक्षमा २ सय १५ र ट्रम्पको पक्षमा १ सय ६५ इलेक्टोरेल मत छ। यद्यपी, रिपब्लिकन पार्टीको पकड रहेका धेरै राज्यमा मतपरिणाम सार्वजनिक हुन बाँकी नै छ। यस्तोमा, २९ इलेक्टोरल रहेको फ्लोरिडा राज्यको परिणाम ट्रम्पका लागि निर्णायक रहने अनुमान गरिएको छ। विश्लेषकहरु राष्ट्रपतिका रुपमा कायम रहिरहने संभावना जीवित राख्न उनले यस राज्यमा विजय हासिल गर्नैपर्ने बताइरहेका छन्। २०१६ मा ट्रम्पले फ्लोरिडा जितेका थिए। एजेन्सी




















