काठमाडौं, कार्तिक १६ । आइतबार बिहानै मन्त्री हेरफेरको हल्ला चलेको कर्णाली प्रदेशमा मन्त्री परिवर्तन तत्काल नहुने भएको छ। पर्टीभित्रको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहालबीचको ११ दिन लामो संवादहीनताको अन्त्य भएर पार्टी स्थायी कमिटी बैठक बस्ने कुरा चलेकाले तत्काल कर्णालीका मन्त्री परिवर्तनको काम रोकिएको हो।
मन्त्री फेरबदलले थप समस्या उत्पन्न हुनसक्ने भन्दै केन्द्रबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिएपछि आइतबार हुने भनिएको मन्त्री हेरफेर तत्कालका लागि रोकिएको नेकपा कर्णाली प्रदेश कमिटी उच्च स्रोतले जनाएको छ।
“शनिबार साँझ पार्टीका नेताहरूको निर्देशनमा आज कुनैपनि हालतमा मन्त्री हेरफेर हुने कुरा थियो,” स्रोतले भन्यो, “बिहान एकाएक केन्द्रबाट मन्त्री फेरबदल गर्दा त्यसको असर अध्यक्षद्वयबीच भएको छलफलमा पर्ने भएकाले तत्काललाई सरकारका मन्त्री फेरबदल नगर्नु भन्ने निर्देशन आएपछि मन्त्री परिवर्तनको कुरा टरेको हो।”
ती नेताका अनुसार आफै संलग्न सरकार प्रमुख अर्थात मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिएका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर नयाँ तीनजनालाई मन्त्रीमा नियुक्त गर्ने कुरा लगभग पक्का थियो। मन्त्री बन्ने पक्का भएका एक सांसदले भने, “पार्टी केन्द्रबाट आज बिहान आएको निर्देशनले उक्त काम केही दिन पर सरेको छ।”




















