चितवन, कार्तिक २ । जिल्ला प्रशासन कार्यालय चितवनले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हुने विभिन्न किसिमका उत्सव र जात्राहरु नगर्न निर्देशन दिएको छ।
कोरोनाको सङ्क्रमण बढ्नसक्ने भन्दै चाडपर्व लक्षित कार्यक्रमहरु बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। चाडपर्वमा पारिवारिक भेटघाट बाहेकका अन्य कार्यक्रमहरु नगर्न सबैमा जानकारी गराइएको छ। अघिल्ला वर्षहरुमा हुने गरेका विभिन्न प्रतियोगिता तथा कार्यक्रम नगर्न निर्देशन दिइएको उनले बर्ता। उनले भने, “नवरात्रिको समयमा मठमन्दिर एवं शक्तिपीठहरुमा दर्शन निषेध गरिएको छ। जिल्लामा हुने सबै किसिमका मेला महोत्सवहरु नगर्न आयोजकहरुलाई आग्रह गरिएको छ।”
मठमन्दिर एवं शक्तिपीठमा नित्य पूजाबाहेक दर्शन लगायतका अन्य गतिविधि रोकिएको हो। कोरोना सङ्क्रमणको त्रासमा चाडपर्वलाई मर्यादित बनाउँदै घरपरिवारसँग बसेर मनाउनुपर्ने शर्माले बताए। अहिलेको महामारीको समयमा स्थानीय प्रशासनको आदेश पालना नगर्नेलाई सङ्क्रामक ऐन, २०२० आदेश अपहेलनाअनुसार कारबाही गरिने उनले उल्लेख गरे। रासस


























