चितवन, कात्तिक १ । चितवनका व्यवसायीप्रति जिल्ला प्रशासन कार्यालय चितवन आक्रमक बनेको छ। चाडपर्व लक्षित अनुगमनका क्रममा त्रुटी भेटिएमा तत्काल कारवाही गर्दै आएको प्रशासनले शुक्रबार पनि नारायणगढका पाँचवटा पसलका सञ्चालकलाई जनही ५० हजार रूपैयाँका दरले जरिवाना तिराएको छ। पसलमा मूल्यसूची नराखेका र लेवल नभएका सामान बिक्री गरेको आरोपमा नारायणगढको निर्मला स्टोर्स, सुनिता खाद्य उद्योग, जयश्री बालाजी ट्रेडर्स, शुलभ खाद्य भण्डार र शुभम् फ्रुट ट्रेडर्सलाई जरिवाना लगाएको हो।
जरिवाना रकम बराबरको ५०/५० हजार रूपैयाँ सात दिनभित्र बैंकमा दाखिला गर्न पनि प्रशासनले निर्देशन दिएको छ। ‘अन्यथा पसल बन्द गर्न बाध्य हुनेछौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने। नेपालीको मुख्य पर्व नजिकिएसँगै चितवनमा बजार अनुगमनलाई तीव्रता दिएको प्रशासनले गलत गर्ने जोकसैलाई पनि नछाड्ने चेतावनी दिएको छ। पर्व नजिकिँदै गर्दा करिब एक महिनाअघि नै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले करिब एक महिनाअघि नै बैठक बसेर व्यवसायीहरूलाई स्वस्थ बजारको विकास गर्न निर्देशन दिएका थिए।


























