तनहुँ, असाेज ३० । झट्ट सुन्दा आँबुखैरेनी क्षेत्र सुगम जस्तै लाग्छ। पाेखरा काठमाडाैं आउ-जाउ गर्ने मुख्यमार्ग नै यहीँ पर्छ। तर यही आँबुखैरेनी गाउँपालिकाकाे वडा नम्बर ५ र ६ मा पर्ने हिलेखर्क क्षेत्रका बासिन्दा भने अझै पनि सञ्चार क्षेत्रबाट नजिक हुन सकेका छैनन्। यहाँका सर्वसाधारणले कसैलाई फोन सम्पर्क गर्न परे करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने ठाउँ खाेज्दै हिड्नुपर्ने बाध्यता छ। समुद्री सतहबाट करिब एक हजार २०० मिटर उचाइमा रहेको यहाँका मानिसलाई अहिले पनि टेलिफाेनकाे लागि टावर टिप्ने डाँडाकाँडा खाेज्दै हिँड्नुपर्ने बाध्यता रहेकाे आँबुखैरेनी गाउँपालिका–६ का वडाध्यक्ष सुनाराम गुरुङले बताए।
हिलेखर्क पर्यटकीय दृष्टिकोणले गन्तव्यस्थलको रूपमा परिचित भए पनि सञ्चार र विद्युत्ले छुन नसक्दा ओझेलमा परेको उनले बताए। वडा नम्बर ५ मा नेपाल टेलिकमले टावर राख्ने कार्यको शुरुवात गरे पनि वडा नं ६ मा भने कुनै पनि सुरसार नभएको उनकाे भनाइ छ। यस वडामा करिब तीन हजार जनसङ्ख्या छन्। ‘विद्युत् र सञ्चार क्षेत्रमा यहाँका बासिन्दा पछि पर्दै गएकाले कष्टकर जीवन बिताउँदै आएका छन्,’ उनले भने। विद्युत्का पोल गाडे पनि बिजुली तार टाँग्ने कार्य बाँकी रहेकाले टेलिकम र एनसेलको टावर राख्न कठिनाइ भएको उनले बताए।
सम्बन्धित निकायमा पटक–पटक घच्घच्याए पनि दशैँपछि हुन्छ भन्ने आश्वासन पाएकाले थोरै भए पनि आश जागेको उनले बताए। चितवनस्थित कविलासको टावरले टिप्ने स्थानमा गएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सोही वडास्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद सिंखडाले बताए। ‘कविलासमा टावर नभएकाे भए अहिलेसम्म पनि यहाँका जनताले फाेनकाे सुविधा पाउने थिएनन्,’ उनले भने। गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दालाई बानी नै परिसकेको उनले बताए। ‘सहजरूपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ,’ उनले भने। जिल्लाका नेता गोविन्द भट्टराई, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानलगायत नेतालाई यहाँको सञ्चार अवस्थाका बारेमा आफूले समेत पटक–पटक जानकारी गराए पनि काम हुन नसकेको उनले बताए। – रासस


























