तनहुँ, असाेज ३० । पृथ्वीराजमार्गअन्तर्गत पर्ने तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि निर्माण गरिएको पुलको रेलिङ भाँच्चिदा उक्त पुल भएर आवतजावत गर्नेहरुकाे लागि जोखिम बढेकाे छ। पुलको दायाँबायाँ राखिएका फलामका रेलिङ खिया लागेर जीर्ण हुनका साथै केही रेलिङ भाँच्चिएपछि जोखिम बढेको हो। भाँच्चिएका रेलिङ समयमा मर्मत नहुँदा गत भदौ १० गते धादिङ घर भएका ३० वर्षीय दिनेश थापा दुर्घटनामा परे। हिँड्दाहिँड्दै पुलबाट खस्दा उनको खुट्टा भाँच्चिएको थियो। बेवारिसे अवस्थामा रहेका उनको स्थानीयवासीले आर्थिक सङ्कलन गरेर पोखरा लगि उपचारपश्चात घर फर्किएका छन्।
व्यासनगरपालिका–२ निवासी रामजी लौडारीको नेतृत्वमा रकम सङ्कलन गरी उनको उपचार गरिएको हो। त्यसैगरी यही असोज २८ गते साँझ पुनः एक जना सोही पुलको रेलिङ नभएको स्थानबाट खसेर घाइते भएका छन्। बागलुङमा ज्यालामजदुरी गर्दै आएका कटारी नगरपालिका–९ भोर्लाका ३७ वर्षीय प्रेम रोका पुलबाट खसेर सख्त घाइते भएका छन्। बागलुङबाट दमौली झरेर पैदल हिँडेर घर जाने क्रममा खस्दा घाइते भएका हुन्। उनको अहिले दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पुलको रेलिङ जीर्ण र भाँच्चिएर खतरा बन्दै गएपछि उक्त रेलिङ मर्मतसम्भार तत्काल गर्न लागिएको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख अमितकुमार श्रेष्ठले बताए।
उक्त पुल हुँदै दैनिक विद्यालय तथा क्याम्पसका विद्यार्थी तथा सर्वसाधारण आवतजावत गर्दैै आएका छन्। मानिस साँझबिहान हिँड्दा खतरा बढेकाले तत्काल मर्मतसम्भारको कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए। दशैँअगावै उक्त पुलको रेलिङ मर्मतसम्भार कार्य गरी सहजरूपमा यात्रा गर्ने व्यवस्था मिलाइने उनले बताए। – रासस


























