काठमाडौं, असोज २९ । कर्णाली प्रदेशमा देखिएको राजनीतिक विवादलाई लिएर मुख्यमन्त्री एवं दलका नेता महेन्द्रबहादुर शाहीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका छन्। शाहीसहित सो समूहका नेताहरूले बिहीवार प्रचण्डको निवास खुमलटारमा भेटेर कर्णालीको राजनीतिक संकटबारे छलफल गरेका हुन्।
संसदीय दलका बहुमत सदस्यले मुख्यमन्त्री एवं दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्तावका लागि भन्दै हस्ताक्षर संकलन गरेपछि कर्णालीको विवाद सतहमा आएको थियो। आफूविरुद्ध हस्ताक्षरको अगुवाइ गरेको भन्दै शाहीले मुख्य सचेतक गुलावजंग शाहलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेका थिए।
यो विवादलाई लिएर केन्द्रमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच पटक–पटक छलफल भएको थियो।
ओली–प्रचण्डले समस्या समाधानका लागि दुवै पक्षलाई काठमाडौं बोलाएका थिए। हस्ताक्षरकर्तामध्ये यामलाल कँडेल लगायतसँग पनि छलफलपछि दुवै पक्षको उपस्थितिमा दुई अध्यक्षले सहमतिको प्रयास गर्ने नेकपा स्रोतले बतायो। शाहीको टोलीसँग प्रचण्डले सहमति गरेर अगाडि बढाउने र सरकार परिवर्तन नहुने आश्वासन दिएको स्रोतले बतायो।


























