काठमाडौं, असोज २९ । सत्तासीन नेकपका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव यथावत राखेर छलफलका लागि काठमाडौँ बोलाएका पार्टीका कर्णाली प्रदेशसभाका सांसदहरुसँग बिहीबार अविश्वासको प्रसतावलाई लिएर उत्पन्न विवाद समाधानका लागि छलफल गर्दैछन्।
प्रधानमन्त्री ओलीले बुधबार नियुक्त गरेका तीन मन्त्रीको सपथ ग्रहणलगत्तै उनीहरु छलफलमा जुट्ने तयारी भएको छलफलबाट काठमाडौँ आइसकेका कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कँडेलले बताए।
मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबिरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने १८ जनामध्ये मुख्य नेताहरु अध्यक्ष ओली र दाहालसँग छलफलका लागि काठमाडौँ आइसकेका छन्।
मगंलबार निर्धारण गरिएको संसदीय दलको बैठकबाट अविश्वासको प्रस्ताव दर्ता गर्ने कसरत गरिरहेका बेला खासगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले साथ नदिएपछि बैठक स्थगित भएको थियो।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये एक जनालाई मुख्यमन्त्री शाहीले त्यसैदिन दलको सचेतकमा नियुक्त गरेका थिए भने केन्द्रबाट ओली र दाहालले मुख्यमन्त्री शाहीसँगै उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेताहरुलाई कर्णाली प्रदेशमा उत्पन्न समस्याले आफूहरु गम्भीर भएको र त्यो समस्या यथावत राखी पार्टी केन्द्रीय कार्यालयमा दुईदिनभित्र उपस्थित हुन निर्देशन दिएका थिए।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार मात्रै नभई पार्टीकोसमेत बदनाम हुनेगरी काम गरेको भन्दै उनको बिकल्पका लागि अविश्वासको प्रस्ताव दर्ता गरेको दाबी नेताहरुले गर्दै आएका छन्।


























