आशिष उप्रेती,
चितवन, असोज २६ । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहँदा चितवनमा खुलेका सार्वजनिक यातायातहरुमा आवतजावत गर्न भने झनै जोखिमपूर्ण बनेको छ। बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन्, जसका कारण सार्वजनिक यातायातका साधनमा यात्रुको भीड बढ्दै गएको छ। सरकारले सार्वजनिक सवारीसाधनमा स्यानिटाइजर र मास्क जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा अपनाउन भनेको छ। तर, अहिले कुनै पनि सवारीसाधनमा यी स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग भएको पाइँदैन। सवारीसाधनमा व्यक्ति–व्यक्तिबीचको भौतिक दुरीसमेत कायम गर्न नसक्दा जोखिम झनै बढेको हो।
कोरोना महामारीको समयमा सार्वजनिक यातायातका साधनभित्रै भौतिक दूरी कायम गर्न सरकारले आधा सिटमा मात्रै यात्रु राख्न पाइने नियम लगाएको छ र ५० प्रतिशत बढी भाडा उठाउन अनुमति दिइएको छ। तर यातायात व्यवसायीहरुले भने भाडा बढी लिने बाहेक स्वास्थ्यसँग सम्बन्धित अन्य कुनै पनि सुरक्षाका उपाय अपनाएका छैननन्। यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुई जना बस्ने गरेको एक लहरमा एक जना मात्रै बस्ने, सार्वजनिक सवारीमा अनिवार्यरुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन।
चितवनमा चल्ने सार्वजनिक यातायातहरुमा बेलाबेलामा अनुगमन नहुँदा यातायात व्यवसायीले जे गरे पनि हुन्छ भन्ने भएको भण्डारादेखि भरतपुरको यात्रामा भेटिएका दिलीप सापकोटाले बताए। सार्वजनिक यातायात सञ्चालकहरुले बसमा मनलाग्दी गरेको पाइएको उनले बताए। ‘न सामाजिक दूरी कायम भएको छ, न त अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड नै,’ उनले भने, ‘क्षमताभन्दा ५० प्रतिशत कम यात्रु राख्ने र ५० प्रतिशत बढी भाडा उठाउने भने पनि भाडा बढी उठाउनेमा मात्रै जोड दिइएको देखिन्छ।’ पुरानो भाडामा ५० प्रतिशत थपेर भाडा लिन पाउने नियममा भने बढाएर सके जति लिने गरेको सापकोटाले गुनासो गरे।
विभागले चार किलोमीटरको भाडा जम्म १४ रुपैयाँ तोकेको थियो। कोरोना महामारीको समयभर भाडा बढाएर न्युनतम भाडा २१ रुपैयाँ पुर्याइएको छ। तर हाल सवारी चालकहरुले भने न्यूनतम भाडा २५ रुपैयाँ उठाइरहेका छन्। यातायात व्यवसायीहरु न्यूनतम भाडा २५ रुपैयाँ नै बनाइरहेका छन्। कोरोना महामारीका बेला हिँड्नैपर्ने बाहेकका यात्रु हिँडेका छैनन्। तर, बस चढेपछि भौतिक दूरी र सुरक्षाका उपाय अपनाएका छैनन्, भाडा मात्रै बढी असुली रहेका छन्।
पूर्वी चितवनको लोथर, भण्डारा, पर्सा, टाँडी हुँदै चितवनको मुख्य सहरी क्षेत्र भरतपुर र नारायणगढ क्षेत्रमा जाने सवारीमा बढी भीड हुने गरेको छ। विशेष गरी पर्सा र टाँडीबाट भरतपुर र नारायणगढसम्म यात्रा गर्ने यात्रुहरु अहिले पनि झुण्डिएर यात्रा गर्न बाध्य छन्। तर भाडा भने बढी नै तिरिरहेका छन्। आम नागरिक कोरोनाको जोखिम मोलेर बढी भाडा तिरी यात्रा गर्न बाध्य हुँदासमेत सम्बन्धित निकायले अहिलेसम्म अनुगमन नगरेको अर्का यात्रु सुमन भुजेलले गुनासो गरे। नियामक निकाय ट्राफिक प्रहरीले पनि यसतर्फ ध्यान नदिएको उनले गुनासो गरे।
सार्वजनिक यातायतमा आधामात्रै यात्रु राख्ने नियम भए पनि पूर्ण क्षमतामा यात्रु राखेर ५० प्रतिशत भाडा असुल्ने कामले यात्रुलाई दोहोरो मार परेको विद्यार्थी सरोज प्रजाले बताए। ‘यात्रुको ढाड सेक्ने गरी भाडा उठाउन सरकारले नै निर्देशन दिएको छ, तर स्वास्थ्य सुरक्षाका उपाय त अपनाउनुप¥यो नि,’ उनले भने, ‘हामी यात्रुले मात्रै उपाय अपनाएर हुँदैन। गाडीवालाले पनि यसलाई कार्यान्वयनमा ल्याउन सक्नुपर्छ।’ कोरोना महामारीका बेला खचाखच यात्रु राख्न नपाइने हुँदा व्यवसायी पनि मर्कामा नपरोस् भन्ने उद्देश्यले सरकारले नै बढी भडा लिन अनुमति दिएको छ। तर, त्यसको प्रत्यक्ष असर विद्यार्थी र आर्थिकरुपमा विपन्न वर्गलाई परेको उनको भनाइ छ।
पछिल्लो समय सरकारले निगरानी नगर्दा सार्वजनिक सवारी चढ्ने यात्रुको स्वास्थ्य जोखिममा रहेको अर्का यात्रु सन्तोष अधिकारीले बताए। सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने भने पनि मनलाग्दी भाडा उठाउने गरेको उनले बताए। सरकारले व्यवसायीसँग गरेको सहमतिअनुसार काम नभएको उनले बताए। ‘न त यातायात व्यवस्था विभागले हेर्छ न त ट्राफिक प्रहरीले,’ उनले भने, ‘यस्तो बेलामा पनि यात्रु ठगिएका छन्, सरकारी निकाय रमिते छ।’ विद्यार्थी र ज्येष्ठ नागरिकलाई दिइने छुट पनि दिएको छैन।
एउटै सिटमा दुईजना राखिएको छ। ट्राफिक प्रहरीले अनुगमन नगरेपछि यस्तो लापर्बाही बढेको उनको बुझाइ छ। सबैजसो सवारीसाधन सञ्चालन भइसकेको अवस्थामा चितवन जिल्लामा सार्वजनिक यातायातले चर्को भाडादर अशुल्ने गरेको यात्रुहरूको गुनासो छ। सामान्य अवस्था र अहिलेको अवस्थालाई यातायात क्षेत्रमा पालना गरिएको छैन, भाडा चर्को लिने तर मापदण्ड पालना गर्नेतर्फ भने यातायात व्यवसायीहरुको चासो देखिएको छैन।


























