असोज २३ । यस वर्ष साहित्य क्षेत्रतर्फको नोबल पुरस्कार अमेरिकाकी कवि लुइस ग्लकले प्राप्त गरेकी छन्। एकेडेमीका अनुसार अवार्ड सम्बन्धी फोन गरेर खबर गर्दा पहिले त उनी निकै आश्चर्यमा परेकी थिइन्।
ग्लकको जन्म न्युयोर्कमा भएको हो र उनी येल युनिभर्सिटीमा अङ्ग्रेजीकी प्रोफेसर हुन्। २०१० पछि साहित्यमा नोबल पुरस्कार जित्ने उनी चौथो महिला हुन् भने १९०१ मा नोबल पुरस्कार सुरु भएदेखि यसलाई प्राप्त गर्ने पनि १६ औँ महिला हुन्। यो भन्दा पहिले १९९३ मा अमेरिकी महिला कवि टोनी मोरिसनले साहित्य तर्फको नोबल पुरस्कार प्राप्त गरेकी थिइन्।
ग्लकले यसअघि १९९३ मा पलिट्जर पुरस्कार पनि पाइसकेकी छन्। त्यस्तै २०१४ मा चाहिँ उनलाई नेस्नल बुक अवार्डले सम्मान गरेको थियो। त्यस्तै कविता संग्रहका लागि २००१ मा उनले बोलिनजेन पुरस्कार पाएकी हुन् र २०१५ मा नेस्नल ह्युमानिटिज मेडलले सम्मानित भएकी थिइन्। उनका कविताहरु मान्छेको पीडादायी वास्तविकतामा केन्द्रित रहने गरेको छ जसमा मृत्यु, बाल्यकाल र पारिवारिक जीवन जस्ता विषयवस्तु हुन्छन्। साहित्यको नोबल पुरस्कार उल्लेखनीय कार्य गर्दै सबैलाई यस क्षेत्र मार्फत आदर्श मार्गमा लैजान सक्ने व्यक्तिलाई दिइने गरिएको छ। बीबीसी


























