काठमाडौं, असोज २२ । गैरआवासीय नेपाली संघको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ गतेसम्म हुने भएको छ। पहिलो पटक २ वर्षअघि संघले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको थियो। हरेक २ वर्षको फरकमा ज्ञान सम्मेलन गर्ने संघको पूर्व योजना अनुरुप दोस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ।
कोभिड–१९ महामारीका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन प्रविधिका माध्यमबाट विश्व ज्ञान सम्मेलन गर्न लागिएको संघले जानकारी दिएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार गर्ने संघले जनाएको छ।
संघका अनुसार सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च अधिकारी र नेपाल तथा नेपाल बाहिर रहेका विज्ञको सहभागिता रहने छ। सम्मेलनका निम्ति आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघका महासचिव एवं सम्मेलन संयोजक डा. हेमराज शर्माले जानकारी दिए।
सो अवसरमा संघका अध्यक्ष कुमार पन्तले नेपालको विकास र समृद्धिका सहयात्रीका रुपमा गैरआवासीय नेपाली रहेको बताउँदै विदेशमा आर्जन गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपालसँग जोड्नका लागि सम्मेलन उपयोगी बन्ने विश्वास व्यक्त गरे। २५ भन्दा बढी देशका १०० भन्दाबढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रबाट ३०० भन्दाबढी प्रस्तोताको सहभागिता रहने विज्ञ सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र सञ्चालन हुन संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए।
सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन्। संघका अनुसार सम्मेलन विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम तथा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा केन्द्रित हुनेछ। साथै संयुक्त राष्ट्रसंघको दीगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औं पञ्चवर्षीय योजनाका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन्।
गैर आवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सहआयोजनामा हुने सम्मेलनमा काठमाडौं विश्वविद्यालयको सहकार्य रहनेछ। परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्त्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा मन्त्री, योजना आयोगका उपाध्यक्ष एवं सदस्य, सांसद, सचिव, विभिन्न सरकारी तथा गैरसरकारी निकायका अधिकारी, गैरआवासीय नेपाली विज्ञ, नेपालमा रहेका विज्ञ र नेपालसँग जोडिएका विदेशी विज्ञ सहभागी हुने संघका महासचिव शर्माले बताए। रासस























