काठमाडौं, असोज २१ । सरकारले दसैंलगायतका चाडपर्व मनाउँदा अभिभावकको सुरक्षालाई ध्यानमा राख्न आग्रह गरेको छ। काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै चाडबाडका लागि सकभर ओहोरदोहोर नगर्न सरकारले आग्रह गरेको हो। १९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ज्येष्ठ नागरिक सबैभन्दा बढी जोखिममा रहेकाले ध्यान दिन आग्रह गरे।
‘हामी स्वस्थ रह्यौं भने फेरि पनि चाडबाड मनाउन सक्छौं। अहिलेको समयमा अभिभावकको सुरक्षा संवेदनशिलतालाई ध्यान दिनु जरुरी छ,’ उनले भने, ‘टाढैबाट पनि आशीष लिन सकिन्छ। सबैले सकभर धेरै ओहोरदोहोर नगर्नु नै राम्रो हुन्छ।’
काठमाडौंबाट बाहिर जाने र फेरि आउने गर्दा त्यसले झनै कोरोनाको जोखिम निम्त्याउने उनको भनाइ छ। अरु जिल्लाहरुमा कोरोनाको प्रकोप नियन्त्रण उन्मुख भइरहे पनि काठमाडौंमा झन् जोखिम बढ्दै गएको उनले बताए।
‘प्रत्येक दिन देखिने संक्रमितको संख्यामा आधा भन्दा बढी काठमाडौंमा छ,’ उनले भने, ‘४० लाख बसोबास गर्ने उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने त्यसले झनै भयावह स्थिति आउन सक्छ।’
आफूले सेवा दिँदा वा लिँदा पनि सावधानी अपनाउन उनले आग्रह गरे। ‘सार्वजनिक यातायातमा यात्रा गर्दा जोखिमलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाउन आग्रह गर्दछु,’ उनले भने। पछिल्ला केही सातायता काठमाडौंमा कोरोनाको संक्रमणदर उच्च छ।
हिजो मंगलबारमात्रै काठमाडौं उपत्यकामा १ हजार १७ जना कोरोना संक्रमित थपिए। काठमाडौंमा ७८३ जना, ललितपुरमा ११६ जना र ललितपुरमा ११८ जना संक्रमित थपिएका हुन्। सोमबार काठमाडौंमा ११ सय ७८ जना, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित थपिएका थिए।


























