काठमाडाैं, असाेज १५ । दसैं, तिहार, छठ, ल्होसारलगायत पर्व लक्षित गरी सुपथ मूल्यमा खाद्यान्नलगायत सामग्री विक्री वितरण पसल काठमाडौं उपत्यकासहित देशैभर बिहीबारदेखि सञ्चालनमा आउँदैछ। साल्ट ट्रेडिङ कर्पाेरेशन, दुग्ध विकास संस्थान र खाद्य संस्थानमार्फत सरकारले यी पसल सञ्चालनमा ल्याउन लागेकाे हाे। सुपथ मूल्यका पसलमा नुन, चिनी, चामल, घ्यु, पनिर, तेल, दाल, मसला, चिया, चिउरालगायतका खाद्यान्न सामग्री बिक्रीमा राखिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मीला केसीले जानकारी दिइन्।
उनका अनुसार यसवर्षकाे पर्व लक्षित सुपथ पसलमा बजारका अन्य पसलमा भन्दा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइएको छ। तीनै संस्थानका देशभर रहेका कार्यालय, डिपो, डिलरका साथै घुम्ती सेवा पसल र अनलाइनमार्फत् उपभोक्तालाई सरल, सहज एवं सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरू बिक्री वितरण गरिने उनले बताइन्। काठमाडाैं उपत्यकामा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, ललितपुर, थापाथली, जावलाखेल, भक्तपुरका साथै धुम्ती सेवा पसल र अनलाइनमार्फत् उपत्यकासहित अन्य ४९ स्थानबाट र दुग्ध विकास संस्थानका आउटलेट लैनचौर, न्युरोड, खुमलटाका साथै तोकिएका अन्य स्थानमा पसल खुल्ने उनले बताइन्।
उनका अनुसार नुन प्रतिकेजी १८, चिनी प्रतिकेजी ७० र घ्यु प्रतिलिटर ८ सय ७० रूपैयाँमा विक्री हुन्छ। नुन र चिनी भने प्रति परिवार ४ केजीका दरले मात्रै दिइन्छ। त्यस्तै दाल, चामल, फापर, तिते फापर र सेतो केराउमा प्रतिकेजी ५ रूपैयाँ छुट हुने छ। खसी, बोका, च्याङ्ग्रा र सिमीमा प्रतिकेजी १० रूपैयाँ छुट हुने उनले बताइन्। सहुलियत दरको पसल मंसिर ८ गतेसम्म खुल्ने मन्त्रालयले जानकारी दिएको छ।


























