काठमाडौं, असोज १४ । सत्तारुढ दल नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्ति बदरको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले गौतमबारे परेको रिटमाथि सुनुवाइ गरी फैसला हुने भएको छ।
सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले गौतममाथी परेको मुद्दाको संवैधानिक इजलासमा बहस भैरहेको बताए। सो इजलासमा प्रधानन्यायाधीश राणाका अतिरिक्त न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा छन्।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले असोज ५ गते रिट हालेका थिए। रिटको असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सो नियुक्तिलाई यथास्थितिमा राख्दै थप जिम्मेवारी नदिन आदेश दिएको थियो।
प्रतिनिधि सभा निर्वाचनमा पराजित व्यक्ति सोहि प्रतिनिधि सभाको कार्यकालमा मन्त्री हुन पाउने कि नपाउने भन्ने संवैधानिक प्रावधानको व्याख्या गर्नुपर्ने भएपछि सो रिटलाई संवैधानिक इजलाशमा पठाइएको हो।


























