धादिङ, असाेज ११ । जिल्लाकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा रहेकाे अचने माद्यमिक विद्यालयले कक्षा र बारकाे आधारमा जाेर-बिजाेर प्रणालीमार्फत पढाइ सञ्चालन गरेकाे छ। विद्यालयले जाेर बार जाेर कक्षा र बिजाेर बार बिजाेर कक्षाकाे पढाइ थालेकाे हाे। विद्यालयले केही दिनअघिदेखि नयाँ तरिकाबाट पढाइ शुरु गरेकाे हाे। जाेर बार जाेर कक्षा र बिजाेर बार बिजाेर कक्षालाई पढाउँदा एउटै कक्षामा एउटै पाठ दुईपटक पढाउनुपर्ने बाध्यता नहुने हुँदा कक्षा र बारकाे आधरमा पठनपाठन शुरु गरिएकाे विद्यालयका शिक्षक दिग्गज धाैरालीले जानकारी दिए। ‘कतिपय विद्यालयमा राेल नम्बरकाे आधारमा पढाइ गरेकाे कुरा पनि सुनेका छाैँ,’ उनले भने, ‘त्यसरी पढाउँदा एउटै कक्षामा एउटै पाठ दुईपटक पढाउनुपर्ने बाध्यता हुन्छ। तर कक्षा र बारका आधारमा पढाउँदा त्याे झन्झट हुँदैन।’

विद्यार्थी र शिक्षकले अनिवार्य मास्ककाे प्रयाेग गर्नुपर्ने, समयसमयमा साबुनपानीले हात धुने, भाैतिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य सुरक्षाकाे मापदण्ड पालना गर्दै पठनपाठन शुरु गरिएकाे हाे। शिक्षक धाैरालीका अनुसार १० कक्षाबाहेक अन्य सबै कक्षाका विद्यार्थीले यसरी नै कक्षाकाेठामा बसेर अध्ययन गरिरहेका छन्। ‘कक्षा १० लाई हरेक दिन अनिवार्य गराएका छाैँ,’ उनले भने, ‘१-९ सम्मका विद्यार्थीलाई भने जाेर बार जाेर कक्षा र बिजाेर बार बिजाेर कक्षा गरेर पढाउँदै आएका छाैँ।’ करिब ५०० विद्यार्थी रहेकाे यस विद्यालयमा प्लस टु काे पढाइ पनि असाेज महिनाकाे अन्तिम साताबाट सञ्चालन गर्ने तयारी गरिरहेकाे उनले बताए। ‘विद्यार्थीलाई पढाइकाे चिन्ता पनि छ, अर्काेतर्फ संक्रमणकाे जाेखिम पनि,’ उनले भने, ‘त्यसैले स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएर पढाइ सञ्चालन गरेका छाैँ।’
काेराेना भाइरस संक्रमणकाे जाेखिमका कारण राेकिएकाे पढाइ बिस्तारै सञ्चालन हुन थालेका छन्। चैत दाेस्राे सतायता बन्द रहेका देशैभरका शैक्षिक संस्थाहरुमा कतिपयले अनलाइन कक्षा चलाइरहेका छन्। तर इन्टरनेटकाे पहुँच नभएका स्थानहरुमा भने अनलाइन कक्षा सम्भव छैन। पछिल्ला केही दिनयता विभिन्न जिल्लामा विद्यार्थीकाे राेल नम्बरकाे आधरमा जाेर बिजाेर प्रणालीबाट पढाउन थालेका छन्। सरकारले हालसम्म ठाेस निर्णय नगर्दा कतिपय विद्यालय भने अन्याैलमै छन्।



























