चितवन, असोज १० । पर्यटनलाई आम्दानीको मुख्य स्रोत बनाएको बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी र डुङ्गा सयर खुल्ला गरिएको छ। कोरोना महामारीका कारण चैत ११ गतेबाट बन्द भएको पर्यटकीय गतिविधि भदौ ७ गतेबाट औपचारिक रुपमा शुरु गरिएको हो। सरकारले भदौ १ गतेबाट सौराहाको पर्यटन खुल्ला गरेपछि बाघमारा वनले हात्ती सफारी र डुङ्गा सयर खुल्ला गरेको हो।
सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुले हात्तीमार्फत् सो सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडालगायत वन्यजन्तुको अवलोकन गर्ने गर्दछन्। गोही र चराचुरूङ्गीको अवलोकनका लागि डुङ्गा सयर हुने गरेको छ। सो सामुदायिक वन भएर बग्ने बूढीराप्ती नदीमा पर्यटकका लागि १६ वटा डुङ्गा सञ्चालन गरिएको छ। सौराहा आउने अघिकांश पर्यटकहरुले सो सामुदायिक वनमा हात्ती सफारी र डुङ्गा सयर गर्दैै आएको वनका अध्यक्ष जीतु तामाङले बताए।
बाघमारामा हात्ती सफारी र डुङ्गा सयर खुल्ला भएपछि सौराहा आएका पर्यटकहरु हात्ती सफारी गर्न थालेका छन्। प्रत्येक दिन एक–दुई टिप सफारी भएको वनका अध्यक्ष तामाङले बताए। कोरोना महामारी कायम रहेका कारण हात्ती सफारी र डुङ्गा सयरमा सुरक्षाका उपायहरुलाई अनिवार्य गरिएको छ। पर्यापर्यटन सुचारू भएपछि आम्दानी हुन सुरू भएको अध्यक्ष तामाङले बताए।


























