सोल, असोज ९ । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागेका छन्। बीबीसीले दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले उक्त घटनामा माफी मागेको जनाएको छ।
दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनलाई पत्र पठाउँदै नेता किमले ‘नहुनुपर्ने घटना घटेको’ भन्दै माफी मागेका छन्। पत्रमा किमले उक्त घटना निकै ‘दु:खद’ र ‘निराशाजनक’ भएको बताएको दक्षिण कोरियाली समाचार संस्था योन्हापलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उत्तर कोरियाले उक्त घटनाका बारेमा अन्य विवरण पनि सार्वजनिक गरेको छ। ती अधिकारीलाई १० वटा गोली हानिएको र उनको शरीर नजलाइएको पनि उत्तर कोरियाली स्पष्टीकरण दिएको छ।
दक्षिण कोरियाली अधिकारीको उत्तरमा हत्या
दक्षिण कोरियाले आफ्ना एक ४७ वर्षीय सरकारी अधिकारीलाई उत्तर कोरियाली सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको थियो।दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त घटनालाई ‘क्रूर कार्य’ को संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको थियो । मन्त्रालयका अनुसार ती अधिकारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने डुंगाबाट बेपत्ता भएका थिए। एजेन्सी


























