असोज २ । अमेरिकाको राष्ट्रपति बनेपछि आफू एक्लै परेको डोनल्ड ट्रम्पले बताएका छन्। राष्ट्रपति बनेदेखि आफ्ना पुराना साथीहरू बढी नै औपचारिक र आदरार्थी बनेको उनले बताए। बिहीवार विस्कन्सिनमा एउटा भेलालाई सम्बोधन गर्दै उनले सफल व्यक्तिहरूलाई आफूले चिनेको तर आफू राष्ट्रपति भएपछि उनीहरूले भिन्न व्यवहार गर्न थालेको बताए।
‘उनीहरू मलाई फोन गर्दा राष्ट्रपतिज्यू, सर, भेटघाटका लागि समय मिलाउन सकिन्छ भन्छन्। म उनीहरूलाई भन्छु– मलाई डोनल्ड भन न, तिमीले मलाई चिनेको ३० वर्ष भइसक्यो भन्छु।’
पदको सम्मानले गर्दा व्यक्तिगत सम्बन्धहरू थप कठिन बनेको भनी उनले गुनासो गरे। ‘मैले सबै साथी गुमाइसकें। उनीहरू खुला थिए। गजबका थिए। म रक्सी पिउँदिनँ तर साथीहरूले पिउँदा जुस पिएर बस्थें। अहिले त त्यो पनि सम्भव छैन,’ उनले भीडलाई बताए। अहिले त संसद्का मान्छेसँग बस्नुपरेकोले तनाव दिन्छ भनी ट्रम्पले टिप्पणी गर्दा भीड हलल्ल हाँसेको थियो।
ट्रम्पले सामाजिक जीवनका समस्याका विषयमा यसअघि पनि बताइसकेका छन्। पोहोर साल नर्थ क्यारोलाइनामा आयोजित एक भेलामा उनले आफू राष्ट्रपति बनेपछि साथीहरूको बोली बन्द भएको र उनीहरूले सामान्य व्यवहार गर्नुपर्ने बताएका थिए। एजेन्सी


























