असोज २ । चिनियाँ कम्पनी बाइट डान्सले चर्चित भिडियो सेयरिङ एप टिकटकको मुख्यालय अमेरिकामा राख्ने भएको छ। अमेरिकी राष्ट्रपतिले देशमा टिकटक ब्यान गर्ने निर्णय गरेसँगै टिकटक सञ्चालक कम्पनी बाइटडान्सले प्रधान कार्यालय स्थानान्तरण गर्ने भएको हो।
विहीवार यसबारे आधिकारिक जानकारी दिइयो। सार्वजनिक योजना अनुरुप टिकटकको मेजोरिटी सेयर अमेरिकामा राखिने मुख्यालयको हुनेछ। त्यस्तै अर्को टेक जायन्ट कम्पनी ओरेकलको पनि माइनोरिटी सेयर रहनेछ।
सीजीटीएन टिभीको रिपोर्ट अनुसार अमेरिकी रिटेल कम्पनी वालमार्टको पनि सेयर रहनेछ। वालमार्टले यसअघि टिकटक खरिदका लागि माइक्रोसफ्टसँग संयुक्त प्रस्ताव राखेको थियो। तेस्रो पक्षको निर्देशनमा चल्ने नयाँ कम्पनीमाथिको नियन्त्रण भने बाइटडान्सले नै राख्नेछ।
चिनियाँ कम्पनीलाई डाटा उपलब्ध गराउँदा राष्ट्रिय सुरक्षामा चुनौती हुने डोनाल्ड ट्रम्पको तर्क हो। उनले टिकटकले अमेरिकी प्रयोगकर्ताको निजी जानकारी चीन सरकारलाई दिएको आरोप समेत लगाएका थिए। हाल अमेरिकाबाट टिकटोकको डाटा अमेरिकामै भण्डार गरिने र ओरेकल डाटा सेवा प्रदायकको रूपमा काम गर्ने रिपोर्टले जनाएको छ। एजेन्सी


























