चितवन, भदौ ३१ । भदौ २९ गतेको भारी वर्षाका कारण विस्थापित भएका पत्रकार चित्र (सोल्टी) गुरूङको परिवारलाई तमू प्ये ल्हु संघ चितवनले बुधबार आर्थिक सहयोग प्रदान गरेको छ। संघले गुरुङको घरमै पुगेर बुबा रमेशकुमारलाई नगद ४१ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो। प्ये ल्हु संघ, प्ये ल्हु महिला समिति र व्यक्तिगतरूपमा संकलन गरेको रकम अध्यक्ष जगतबहादुर गुरुङ, पूर्व अध्यक्ष एंव सल्लाहकार भिमबहादुर गुरुङ र महिला समितिका जिल्ला अध्यक्ष इन्द्रकुमारी गुरुङले संयुक्तरुपमा पहिरो प्रभावित गुरुङ परिवारलाई हस्तान्तरण गरिएको हो।
पहिरोका कारण परिवार नै विस्थापित हुनुपर्ने अवस्था आएको खबर पाएपछि तत्कालका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले संघको तर्फबाट आर्थिक सहयोग प्रदान गरेको सचिव बिक्रम तमूले बताए। प्रभावित परिवारलाई संघको तर्फबाट आएको सहयोग रकमले कम्तिमा पनि आधारभूत आवश्यकता पूरा हुने उनले विश्वास लिए। उनका अनुसार व्यक्तिगतरूपमा संकलित १९ हजार रूपैयाँमाथि संघको मुल समितिबाट १० हजार र महिला समितिबाट १२ हजार रूपैयाँ थप गरेर ४१ हजार पुर्याइएको हो।

चित्र (सोल्टी) गुरूङ तमू सञ्चारकर्मी संघ नेपालको केन्द्रीय सचिव, तमु प्ये ल्हु संघ चितवन र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको जिल्ला कार्यसमिति सदस्य समेत हुन्। उनले इच्छाकामना न्युज डटकम र छ्याजालो न्युज डटकम सञ्चालन गर्दै आएका छन्। उनी विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्।


























