काठमाडौं, भदौ २९ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले जुम्लाबाट सत्याग्रह थालेका छन्। डा.केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका लागि आफूले राखेका विभिन्न मागहरु सुनुवाइ नभएको भन्दै आज ९सोमवार० दिउँसो २ बजेदेखि अनसन शुरु गरेका हुन्।
वरिष्ठ चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेका हुन्। डा.केसीले यो पटक विभिन्न ६ बुँदे माग राख्दै अनसन शुरु गरेका छन्।
डा.केसीले आफ्नो पहिलो माग कर्णाली स्वास्थ्य विज्ञान प्रतिशठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने र गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरु गर्नुपर्ने, प्रदेश दुई र गण्डकी प्रदशे तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने माग राखेका छन्।
यस्तै मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने माग पनि उनले राखेका छन्।
डा केसीले आफुसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गनुपर्ने पनि माग राखेका छन्।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग उठाएका छन्।


























