तनहुँ, भदाै २८ । चट्याङ लागेर घाइते भएका देवघाट ५ कालिमाटीका किसान तामाङलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएकाे छ। २१ वर्षीया तामाङलाई यही भदाै २३ गते राति चट्याङ लागेकाे थियाे। तत्काल उपचारकाे लागि चितवनस्थित सीएमसी लगे पनि आर्थिक अभावका कारण उपचार पूरा हुन नपाएपछि चारदिन अस्पताल राखेर घर ल्याइएकाे छ। अहिले उनी घरमै आराम गरिरहेका छन्। अस्पताललाई बुझाउने पैसा नभएकै कारण छाेरालाई केही दिनमात्रै अस्पताल राखेर घर ल्याएकाे आमा सुनिताले बताइन्।
किसानकाे अनुहार र शरीरमा चोट लागेकाे छ। उपचार गर्ने पैसा सकिएको र घरकाे आर्थिक अवस्था ज्यादै कमजाेर रहेका कारण उपचारका लागि अस्पताल लगेकाे छाेरालाई पनि फर्काएर ल्याउन बाध्य भएकाे उनले बताइन्। यो बेला सापटी खाेजेर पनि कतै नपाइने हुँदा थप समस्या सिर्जना भएकाे उनकाे भनाइ छ। ‘दायाँबायाँ सरसापट गराैँ भने पनि सबैलाई अप्ठ्याराे छ कसरी माग्नु,’ उनले भनिन्, ‘कतैबाट सहयाेग रकम पाए उपचारमा सजिलाे हुन्थ्याे कि भन्ने लागेकाे छ।’ किसानकाे उपचारकाे लागि सहयाेग र थप जानकारी लिनकाे लागि किसानकी आमा सुनिता तामाङकाे ९८२५२६७९५२ र देवघाट गाउँपालिकाका प्रेस सल्लाहकार आशिक रानामगरकाे ९८४५१९५५४८ नम्बरमा सम्पर्क गर्न सकिनेछ।


























