भदौ २७ । इजरायल र खाडी देश बहराइनबीच शान्ति सम्झौतामा सहमति भएको छ। दुई देशबीच शान्ति सम्झौता गर्ने सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्।
आपसी सम्बन्ध पूर्णरुपमा सामान्य बनाउनका लागि इजरायल र बहराइन सहमत भएको ट्रम्पले बताएका हुन्।
उनले ट्वीट गरेर इजरायलसँग शान्ति स्थापनाका सम्बन्धमा सहमति पुग्ने बहराइन पछिल्लो ३० दिनमा दोस्रो देश रहेको उल्लेख गरेका छन्।
दशकौँदेखि अधिकांश अरब देशहरुले इजरायललाई बहिष्कार गर्दै आएका छन्। प्यालेस्टाइनसँगको तनाव अन्त्य भएपछि मात्रै इजरायलसँग सम्बन्ध सुधार गर्ने उनीहरुले भनाई रहँदै आएको छ।
तर गएको महिना संयुक्त अरब इमिरेट्स (युएई) इजरायलसँगको सम्बन्ध सामान्य बनाउन सहमत भएको थियो।
गएको जनवरीमा आफ्नो मध्यपूर्ण शान्ति योजना सार्वजनिक गरेका ट्रम्पले इजरायल र प्यालेस्टाइनबिचको हिंसा अन्त्य गर्ने बताउँदै आएका छन्।
सन् १९४८ मा इजरायलको स्थापना भएपछि त्यसलाई मान्यता प्रदान गर्ने बहराइन चौथो अरब राष्ट्र हो। यसअघि युएई, इजिप्ट र जोर्डनले इजरायललाई मान्यता प्रदान गरेका थिए।
इजरायल र बहराइनबिचको सम्झौता राष्ट्रपति ट्रम्प र उनका ज्वाईँ जेरार्ड कुश्नरका लागि कूटनीतिक सफलता हो। एजेन्सी


























