काठमाडौं, भदौ २४ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बसेर पार्टी स्थायी कमिटी बैठकको एजेन्डा तय गरेका छन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तापछि एजेन्डा तय भएको हो।
दुवै अध्यक्ष बसेर वृस्तृत छलफल गरी स्थायी कमिटीमा लाने एजेन्डा तय गरेको बुझिएको छ। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित पार्टी विवाद समाधानका लागि सुझाव तयार गर्ने कार्यदलको प्रस्तावलाई अन्तिम रुप दिई एजेन्डाका रुपमा स्थायी कमिटीमा लगिने भएको छ। आज ओली र प्रचण्डले कार्यदलको प्रस्तावलाई अन्तिम रुप दिई कुरा नमिलेका विषय स्थायी कमिटीमा छलफल गर्ने गरी प्रस्तुत गर्ने भएका हुन्।
बैठकमा स्थायी कमिटीमा लाने प्रस्तावहरुमा बामदेवलाई राष्ट्रियसभामा लाने विषयका अलावा सरकार सञ्चालन र पार्टीका कतिपय कार्यविभाजनसम्बन्धी विषय पनि रहेको बुझिएको छ। बैठकमा कोभिड १९ को जोखिम रोकथामका लागि सरकारले चालेका कदमबारे पनि समिक्षा गर्ने गरी एजेन्डा बनाइएको छ।
नेकपा स्थायी कमिटी बैठक आगामी शुक्रबार बस्ने तय भएको छ। १३ साउनमा स्थगित बैठक २६ भाद्रमा बस्ने गरी तय भएको हो।


























