चितवन, भदाै २३ । चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षपछि तस्करले दुर्लभ एक सिंगे गैंडा मारेको आशङ्का गरिएको छ। निकुञ्जको बाँदरझुला आईल्याण्ड क्षेत्रमा दुई दिनअघि शङ्कास्पद अवस्थामा मृत अवस्थामा गैंडा भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५ देखि ३० वर्षको गैंडाको टाउकोमा दुईवटा प्वाल र पछाडीको भागमा धारिलो हतियारले काटेको थियो। ‘खाग र खुर भने सुरक्षित भेटियो’, उनले भने, ‘शङ्कास्पद भयो, तस्करले होइन भन्न सक्ने अवस्था रहेन।’
तस्करले आक्रमण गरेको अनुमानमा निकुञ्जमा सुरक्षा सतर्कता बढाइएको छ। वि.सं. २०७३ चैतमा जगतपुरको एक सामुदायिक वनमा तस्करले गैंडा मारेयता हालसम्म चोरीका कारण गैंडा मारेको तथ्याङ्क निकुञ्जमा छैन। निकुञ्जका पशु चिकित्सक डा. भिषण गजमेरका अनुसार भदौ २१ गते घोलमा गढेर उभिएको तर गलेको अवस्थामा गैंडा भेटिएको थियो। मृत भाले गैंडाको टाउकोमा दुईवटा प्वाल रहेका थिए। तीनदेखि चार ईन्चका ती प्वाल के कति कारणले भएको एकिन नभएको उनले बताए।
करिब एक साताअघि गैंडा मरेको अनुमान गरिएको छ। तस्करले गैंडालाई आक्रमण गरेको हुन सक्ने भन्दै निकुञ्जले अनुसन्धान थालेको छ। तस्करले खाग र खुरका लागि गैंडा मार्ने गर्दछन्। खाग र खुर सुरक्षित भएकाले घटना रहस्यमय बनेको छ। निकुञ्जमा साउन यता प्राकृतिक कारणले तीन गैंडा मरेका छन्। सशस्त्र द्वन्द्वमा तस्करले एकै वर्षमा ३६ वटासम्म गैंडा मारेका थिए। पछिल्ला वर्षमा निकुञ्जले नयाँ नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्था मजबुत बनाएपछि तस्करले गैंडा मार्न नसकेका हुन्। गत आर्थिक वर्षमा गैंडाको गणना गर्ने भनिएको भए पनि कोरोना सङ्क्रमणका कारण स्थगित भएको थियो। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा छन्। – रासस


























