टेक्सस, भदौ २१ । आगामी नोभेम्बर महिनामा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ।
रिपब्लिकन पार्टीका तर्फबाट हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको लागि चुनाव लड्दैछन् भने डेमोक्रेटिकका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडनले ट्रम्पलाई टक्कर दिँदैछन्।
चुनाव आउन दुई महिना मात्र बाँकी रहँदा ट्रम्प र बाइडन चुनावी अभियानमा लागिसकेका छन्। दुवै पार्टीका समर्थकले पनि आफ्ना उम्मेदवारको पक्षमा विभिन्न र्याली र परेडहरु निकालेका छन्।
शनिबार मात्र अमेरिकी राज्य टेक्ससको एउटा तालमा राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा एउटा परेडको आयोजना भएको थियो।
उक्त परेडमा २६ सय व्यक्तिहरु सयौं डुंगामा सहभागी भएका थिए। तालमा सयौं डुंगाहरु चलाइएपछि त्यहाँ कयौं डुंगाहरु पनि डुबेको बीबीसीले जनाएको छ।
सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा ट्रम्पको चुनाव प्रचारका झण्डा सहितका डुङ्गाहरू एकअर्काको निकै नजिक तैरिरहेका देखिन्छन्।
उक्त ट्राभिस काउन्टीका शेरिफको कार्यालयका अनुसार केही डुङ्गामा पानी पसेको थियो, केही रोकिएका थिए भने केही डुबेका थिए।
उक्त कार्यालयले घटनाको अनुसन्धान थालेको छ तर नियतवश दुर्घटना भएको कुनै प्रमाण नभएको पनि जनाइएको छ। डुंगा दुर्घटनामा कोही घाइते भएका छैनन्।
अधिकारीहरूका अनुसार धेरै सङ्ख्यामा डुङ्गाहरू एक आपसको नजिकै चलेको हुँदा त्यसले तालको पानीमा ल्याएको तरङ्गका कारण छाल उत्पन्न भएपछि सो घटना भएको हुनसक्छ। बीबीसी


























