मुम्बई, भदौ २१ । मुम्बई प्रहरी, महाराष्ट्र, फिल्म उद्योग र यीसँग जोडिएका विषयमा दिएका अभिव्यक्तिका कारण भारतीय कलाकार कंगना रनावत विवादमा तानिएकी छिन्।
कंगनाविरुद्ध एक सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीमा उजुरीसमेत दिएका छन्।
सन्तोष देशपाण्डे नामक व्यक्तिले शनिवार अनलाइन उजुरी गरेको बताएका छन्। उनले आफ्नो बयानमा कंगनाले महाराष्ट्रको गौरव र आत्मसम्मानमा अपूरणीय ढंगले क्षति पुर्याएको बताएका छन्।
उजुरीकर्ताले कंगनाको ट्वीट भड्काउ भएको पनि बताएका छन्।
उनीमाथि अरुलाई उक्साएको आरोप लगाइएको छ। उजुरीकर्ता देशपाण्डेले भनेका छन्, ‘अभिनेत्रीद्वारा गरिएको ट्वीट सही छैन, यसले मान्छेलाई उक्साइरहेको छ, उनले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरेकी छिन्।’
कंगनाले हालै आफूलाई फिल्म माफियासँग भन्दा बढी मुम्बई प्रहरीसँग लाग्ने बताएकी थिइन्। राज्य प्रहरीको विषयमा दिएको यस्तो अभिव्यक्तिले कंगनालाई विवादमा तानेको हो। एजेन्सी


























