काठमाडौं, भदौ १९ । दुई वर्षअघि रिलिज भएको निर्देशक दिनेश राउतको चलचित्र ‘प्रसाद’को दोस्रो शृंखला फेरि निर्माण हुने भएको छ। यो चलचित्रका निर्माता सुवास थापा यतिबेला प्रसाद–२ को निर्माण तयारीमा जुटेका छन्। प्रसादमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत मुख्य भूमिकामा थिए। प्रसाद–२ का लागि पनि यी तीनमध्ये दुई कलाकार विपिन कार्की र नम्रता श्रेष्ठ अनुबन्धित भइसकेका छन्।
यी दुई कलाकारलाई प्रसाद–२ का लागि यसै साता अनुबन्धित गरिएको निर्माण पक्षले जनाएको छ। प्रसादले सफलता पाएपछि प्रसाद–२ निर्माण गर्न लागिएको सुवासको भनाइ छ। दसैंपछि छायांकन सुुरु गर्ने भनिएको यो चलचित्रको कोरोना संक्रमणको महमारीको कारण छायांकन केही सातापछि सर्ने स्थिति रहेको छ।
यसअघि प्रसादलाई दिनेशले निर्देशन गरेका थिए। तर, यो दोस्रो सिक्वेलमा निर्देशक परिवर्तन भएका छन्। निर्माता सुवास थापाले प्रसाद–२ को निर्देशन जिम्मा सौरभ चौधरीलाई दिएका छन्। सौरभको यसअघि नयाँ फिल्म लभ डायरिज गत वर्ष रिलिज भएको थियो।
प्रसादकै लेखक तथा सञ्चारकर्मी सुशील पौडेलले प्रसाद–२ को स्क्रिप्ट लेखिरहेका छन्। पौडेलका अनुसार स्क्रिप्टको कार्य अन्तिम चरणमा पुगेको छ भने फिल्मको कलाकार र प्राविधिकहरू छान्ने कार्य भइरहेको छ। काठमाडौंमा कोरोना संक्रमणको अवस्था केही साम्य भएपछि यो चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ। चलचित्र प्रसाद सफल भएका कारण यसको सिक्वेल प्रसाद–२ पनि त्यतिकै राम्रो बनाउने निर्माण पक्षको कथन छ।


























