चितवन, भदौ १७ । किसानले धान रोप्ने बेलामा नपाएको युरिया मल धान काट्ने बेलासम्ममा पाउन सकेका छैनन्। समृद्धिको नारा लिएको सरकारले बेलैमा युरिया मल उपलब्ध नगराउँदा किसान मर्कामा परेका छन्।
अन्तिम चरणमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षी शेख हसिनालाई मंगलबार फोन गरेर युरिया मल दिन आग्रह गरेका छन्।
तर, बंगलादेशबाट मल कहिले टुंगो छैन। किसानलाई धानबालीका लागि मल आवश्यक परिसकेको छ। यसैबेला कोरोनाभाइरसको महामारीकाबीच चितवनमा १० किलो युरिया मलका लागि किसानहरु दुई किलोमिटर लामो लाइन लागेर बसेका छन्।
भरतपुर ६ गीतानगरको साझामा बाँड्न राखिएको युरिया मल लिन किसानहरु लाइन दुई किलोमिटरभन्दा लामो रहेको स्थानीयहरुले बताएका छन्।
भीडभाड र दुई किलोमिटर किसानको लाइनले कोरोना संक्रमणको जोखिम बढाएको छ। त्यहाँबाट कोरोना संक्रमण भएमा कस्तो अवस्था सृजना होला भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले चिन्ता जनाइरहेका छन्।


























