चितवन, भदौ १६ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाहीको बरहथवा–२ का १५ वर्षीय बादे राना मगर छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार घाइते मगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। अन्य घाइतेको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
काठमाडौँबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन्। दुर्घटना बिहान ५ः१५ बजे भएको थियो। रासस
Facebook Comments


























