परासी, भदौ १३ । नेपाली बजारमा भारतीय केराको व्यापक आयातले नेपाली केरा किसानहरु समस्यामा परेका छन्। खेतमा तयार केरा बिक्री वितरण नभैरहेकाले केरा बोटमै पाकेर कुहिन थालेपछि यहाँका किसानहरु चिन्तित बनेका हुन्।
एकातिर खेतमा तयार रहेको केरा जिल्ला जिल्लामा निषेधाज्ञा र कोरोनाको माहामारीका कारण विक्री वितरण भैरहेको छैन भने अर्कोतर्फ भारतीय सस्तो केरा नेपाली बजारमा आयात भैरहेकोले नेपाली केराले बजार नपाइरहेको केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए।
भारतीय सस्तो केरा नेपाली बजारमा भित्रिरहेको तर नेपालमै उत्पादित केरा बजार पुर्याउँन खोज्दा भने कोरोना संक्रमण फैलिने भन्दै विभिन्न स्थानीय तहका जनप्रतिनिधि र स्थानिय प्रहरी प्रशासनले अवरोध गरेको अध्यक्ष यादवले आरोप लगाए । केरा बिक्री नहुँदा लाखौंको क्षति बेहोर्नुपरेको किसानहरुको भनाइ छ।
भारतीय केरा थोकमा, प्रति दर्जन १५ देखि २० रुपैयाँमा पाइने हुँदा उक्त केरा नेपाली केरा भन्दा १५ रुपैयाँ सस्तो पर्न जान्छ। अहिले जिल्लामा नेपाली केरा प्रति दर्जन ३५ रुपैयाँ छ। भन्सार, क्वारेन्टाइन र एजेन्टहरुको सेटिङ्गमा व्यपारीहरुले केरा सस्तोमा सहजै आयात गर्न पाएपछि व्यपारीहरु ले नेपाली केरातर्फ ध्यानै दिएका छैनन्। किसानहरुले भारतीय केरा आयातमा रोक लगाउन माग गरेका छन्।
जिल्लामा कुल २५ सय विगाहा क्षेत्रफलमा केरा खेती गरिएको छ।


























